जनता टाइम्स

३० असार २०८२, सोमबार २१:११

 प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल


काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता गठबन्धनमा आबद्ध तीन प्रमुख दलका शीर्ष नेताहरूबिच आज प्रधानमन्त्री निवास बालुवाटारमा महत्त्वपूर्ण छलफल भएको छ । बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको छलफलमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, गृह मन्त्री रमेश लेखक, एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो ।

छलफलको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक अवस्था, बजेट कार्यान्वयन, सरकारहरूमा देखिएका असमझदारी र स्थानीय तहसँग समन्वयलगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएकाे छ। प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा व्यक्त गर्नुभएको आलोचना र सरकारप्रति उठाइएका प्रश्नको सन्दर्भमा सत्ता साझेदार दलहरूबिच रणनीतिक समन्वय आवश्यक ठानिएकाले पनि यो बैठक आयोजना गरिएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेट पारित भइसकेपछि कार्यान्वयनतर्फ एकीकृत ढंगले अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो भने नेपाली कांग्रेसका सभापति देउवाले सरकारको विश्वसनीयता र जनअपेक्षा सन्तुलनमा ल्याउन पारदर्शिता र समन्वयमा जोड दिनुभएको थियो ।

सत्ता गठबन्धनभित्रको सहकार्य, आगामी राजनीतिक कार्यदिशा, तथा ठूला विकास आयोजनाहरूको समन्वयबारे समेत छलफल भएको जनाइएको छ । बैठकको बारेमा औपचारिक जानकारी जारी नगरिए पनि सहभागी नेताहरूले छलफल ‘सकारात्मक र आवश्यक समन्वयका लागि उपयोगी’ भएको प्रतिक्रिया दिनुभएको छ ।