जनता टाइम्स

३१ असार २०८२, मंगलवार ०६:५०

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन


काठमाडौँ, ३१ असार । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित हुनुभएको हो । बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ। सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सदस्यका रूपमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला हुनुहुन्छ । ओझामाथि फर्जी कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएको आरोप लागिरहेको छ। सो विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।