काठमाडौं, ३२ असार । वीरगञ्ज महानगरमा खानेपानीको संकट भएपछि सेनाले दमकलमार्फत पानी खुवाउने भएको छ।जिल्ला विपद् व्यवस्थापन समितिले ट्यांकर र दमकल प्रयोग गरी वीरगञ्ज महानगरसहित विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजंग गणले खानेपानीको चर्को अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिनुभयो ।वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ। बैठकले दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ। नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्री नम्बरको व्यवस्था गर्ने जनाएको छ।खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटरभन्दा बढी खानेपानी उत्पादन गरे पनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताउनुभयो । ‘यहाँका खानेपानीका उपभोक्ताले जथाभावी मोटरबाट पानी तान्ने प्रवृत्तिले समस्या देखिएको छ’, उहाँले भन्नुभयोख, ‘पानीको हाहाकार भएपछि पछिल्लो १५ दिनको अवधिमा नयाँ धारा जडान गर्न नौ सयभन्दा बढी ग्राहकले निवेदन दिएका छन्।’
वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धानुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गर्नुभयो । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको निकै अभाव भएकाले ट्यांकरमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्