जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार ०७:३५

एमाले सचिवालय बैठक बस्दै, विधान संशोधनको प्रारम्भिक खाका प्रस्तुत हुने


काठमाडौं, १ साउन। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दै छ।

विधान महाधिवेशनको तयारी, पार्टी संगठन सुदृढीकरण र सरकारको एक वर्षे कार्यकालको समीक्षालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा पार्टी विधान संशोधनको प्रारम्भिक खाका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। पौडेललाई यसअघि नै विधान संशोधन समिति संयोजकको जिम्मेवारी दिइएको थियो।

आजको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रतिवेदन बारे पनि छलफल हुने छ। यी प्रतिवेदनहरूमाथि छलफल गरेर पार्टीको आगामी नीति, कार्यक्रम र सांगठनिक संरचनामा स्पष्ट दिशा दिने तयारी गरिएको छ।

त्यस्तै, सचिवालय बैठकले भोली साउन २ गते बस्ने पोलिटब्युरो बैठक र साउन ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकको कार्यसूचीसमेत तय गर्ने छ। यी बैठकहरूमार्फत विधान महाधिवेशनका प्रस्ताव र नीतिहरूलाई थप संस्थागत गर्ने लक्ष्य राखिएको छ।

एमाले नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा सरकारले गरेका काम कारबाहीको समीक्षा पनि बैठकको कार्यसूचीमा रहेको गौतमले जानकारी दिनुभयो।

विधान महाधिवेशनलाई पार्टीले केवल सांगठनिक प्रक्रिया मात्र नभई भावी राजनीतिक मार्गचित्र निर्माणको अवसरका रूपमा समेत लिएको छ। एमाले भित्र आन्तरिक लोकतन्त्र, जबाफदेहिता, र कार्यकर्ताको सहभागिता सुदृढ गर्ने दृष्टिकोणसहित यो महाधिवेशनतर्फ केन्द्रित हुने सङ्केत दिइएको छ। त्यसैले त्यसको पूर्वतयारीमा एमाले जुटेको छ ।

पार्टीका विभिन्न तहमा विधान संशोधनको विषयमा परामर्श भइरहेका बेला आजको सचिवालय बैठकले संस्थागत राय दिने अपेक्षा गरिएको छ। विशेषतः सांगठनिक ढाँचा,  उमेरकाे हद लगायतका  विषय एमाले भित्र पेचिलो बन्दै गएका छन् । आजको निर्णयले पार्टीको आगामी सांगठनिक स्वरूप र राजनीतिक रणनीतिको सङ्केत गर्ने छ ।