जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार ११:५३

पूर्वाधार विकास कार्यालयको काममा अपारदर्शिता भएको गुनासो, स्थानीय सूचना माग्न जाँदा दिइएन


रामेछाप, ६ साउन । पूर्वाधार विकास कार्यालय रामेछाप गराएको काममा अपारदर्शिता भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

सो कार्यालय मार्फत भएको काममा गुणस्तर नभएका र काम समेत अपारदर्शी भएको भन्दै स्थानीय लाभग्राहीको गुनासो रहेको छ । सो कार्यालय मार्फत कार्यालयकै गेट सानीमदौमा निर्माण भएको एउटा सडकको काम समेत आपारदर्शी भएको स्थानीयको गुनासो छ ।

कार्यालयको गेट नजिकैको १ सय २० मिटर सडक ढलानको लागि वाग्मती प्रदेश सरकार मार्फत २० लाख रुपैँया बजेट विनियोजन भएको थियो । तर सो सडक कति रुपैँयामा ठेक्का लाग्यो भन्ने कुरा स्थानीयलाई थाहा छैन । स्थानीयले थाहा पाउन खोज्दा कार्यालयले सूचना नदिएको स्थानीयको गुनासो छ ।

मन्थली नगरपालिका–१ सानीमदौस्थित सामुदायिक सिकाइ केन्द्रदेखि करिब १ सय २० मिटर सडक ढलान गरिएको छ। तर काम पारदर्शी नभएको स्थानीयको आरोप छ।

स्थानीय पाण्डव सुवेदीका अनुसार २१ मिटरभन्दा बढी सडक क्षेत्रमा सोलिङ नै नगरी ढलान गरिएको छ । सोलिङ गरिएको ठाउँमा पनि ढुङ्गा नठड्याई त्यतिकै हालिएको छ । सो काम कति लागतमा भयो भन्ने जानकारी समेत कार्यालयले स्थानीयलाई दिन मानेको छैन । योजनाको बारेमा लिखित सूचना माग्न जाँदा कार्यालयले निवेदन समेत दर्ता नगरेको सुवेदीले बताउनुभयो ।

सडक बनाउने क्रममा स्थानीयले प्रयोग गर्ने गोरेटो बाटो समेत भत्काइएको छ ।  ‘हामीले वर्षौँदेखि प्रयोग गर्दै आएको बाटो बिगारियो, पहिलो सो बाटो संरक्षणको लागि टेवा पर्खाल र सिँढी राखिदिने कुरा भएको थियो, तर काम भएन,  सोध्न जाँदा जहाँ  जानु छ जानु, जे गर्न सकिन्छ गर्नु भन्ने जवाफ आयो’, सुवेदीले भन्नुभयो ।

सडकको काम गर्दै निर्माणस्थलमा आयोजनाको बोर्ड राख्नु पर्ने हो । निर्माण व्यवसायीले बोर्ड त राखेनन् नै । सूचना माग्न जाँदा समेत कार्यालयले सूचना नदिएको स्थानीयको गुनासो छ । स्थानीयले सो आयोजनाको बजेट सार्वजनिक गर्नु पर्ने र सडकको गुणस्तर परीक्षण गरिनुपर्ने माग गरेका छन्।

स्थानीय हेमन्त पौडेलले सडक निर्माण भएको भए पनि अपेक्षित गुणस्तर नपुगेको बताउनुहुन्छ। ‘बजेट आयो, निर्माण भयो, तर अपेक्षाअनुसारको काम भएन, कति खर्च भयो भन्ने जानकारी समेत नदिनु थप शङ्कास्पद भयो’, उहाँले भन्नुभयो ।

सो सडक पहिला स्थानीय उपभोक्ता मार्फत निर्माण गर्ने तयारी गरिएको थियो । तर कार्यालयले स्थानीय उपभोक्ता समिति बनाउन उपभोक्ताको सङ्ख्या नपुगेको भन्दै निर्माण व्यवसायी मार्फत काम गराएको थियो ।

स्थानीय बासिन्दाले सडक योजनामा भएको लापरबाही, अपारदर्शिता र जबाफदेहितामाथि प्रश्न उठाउँदै योजनाको यथाशीघ्र प्राविधिक परीक्षण गर्न र सम्बन्धित निकायले ध्यान दिन माग गरेका छन्।

स्थानीयवासीको गुनासो पछि पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर दोर्णबहादुर चौधरीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन । कार्यालयको नम्बरमा फोन गर्दा सब–इन्जिनियर महेन्द्र साहले सूचना अधिकारी र कार्यालय प्रमुख दुवै काठमाडौं जानुभएको जानकारी दिनुभयो । उहाँहरू केही दिन पछि मात्र जिल्ला फर्कने उहाँले बताउनुभयो ।