काठमाडौं, साउन ६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने निर्णय सुनाउनु भएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति राजनीतिमा आउन हुने कि नहुने भन्ने गरमागरम बहस भइरहेको बेला पूर्वराष्ट्रपति भण्डारीले संगठित सदस्यता गत वर्ष नै नवीकरण गरेर सार्वजनिक घोषणामार्फत नै एमालेको राजनीतिमा सक्रिय भइसकेको प्रष्ट पार्नुभएको हो ।
आफ्नै निवास भंगालमा आफू निकट पत्रकारहरू बोलाएर पूर्वराष्ट्रपति भण्डारीले अब पछि हट्ने अवस्था नरहेको बताउनु भयो । भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको आरोपसमेत लगाउनु भएको छ ।
भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतङ्कित पार्ने काम रोकिनुपर्ने बताउनु भएको भंगालमा पुगेका एक पत्रकारले बताए । पूर्वराष्ट्रपति भण्डारीले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतङ्कित पार्ने र बोल्न नदिने प्रयास भइरहेको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।
यस्तै पूर्वराष्ट्रपति भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रूपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाउनु भयो । ‘दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान् हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टरेर गर्ने, बोल्न नदिने र बोलेबापत कारबाही गर्ने भन्न थालिएको छ । यो तरिका बिल्कुलै ठिक छैन,’ भण्डारीले भन्नुभयो ।
भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा प्रष्टै कुरा भएको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले नयाँ वर्षको आफ्नो वक्तव्यपछि एमाले अध्यक्ष केपी शर्मा ओली चिढिएको भनाईसमेत आफू निकट पत्रकारलाई सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्