जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार २२:४८

केपी ओली २४ घण्टामध्ये २० घण्टा देश र पार्टीका लागि खट्न सक्ने नेता हो : उषाकला राई


काठमाडौं, ६ साउन । नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय कमिटीको नवौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई ‘अपरिहार्य’ ठहर गर्दै विधान संशोधनको पक्षमा उभिनु भएकाे छ ।

उहाँका अनुसार एमालेको विधानमा उल्लेख गरिएको दुई कार्यकाल र ७० वर्ष उमेरको हदम्याद हटाउने निर्णय ‘पार्टी अध्यक्ष ओलीको अपूर्व क्षमताका कारण’ सान्दर्भिक छ । उहाँले बैठकमा धारणा राख्दै भन्नुभयो, ‘यो निर्णय केपी ओलीलाई हेरेर गरिएको हो, त्यसमा अप्ठ्यारो मान्नुपर्ने केही छैन, उहाँ २४ घण्टामध्ये २० घण्टा देश र पार्टीका लागि खट्न सक्ने नेता हो ।’

राईले ओलीको कार्यशैलीलाई अद्भुत भन्दै समर्थन जनाउनुभएको छ । उहाँको कथनमा, ‘२० वर्षको युवाले पनि ओलीजस्तो मेहनत गर्न सक्दैन ।’

एमाले अध्यक्ष ओली र पार्टीमाथि भइरहेको घेराबन्दीलाई राईले राष्ट्रियतामाथिको हमलाको संज्ञा दिनुभयाे । ‘यो घेराबन्दी राष्ट्रिय विकास र समृद्धि रोक्न गरिएको हो, चुच्चे नक्सा सार्वजनिक, नाकाबन्दीको सामना, र द्रुत विकास गर्ने क्षमता भएकाले केपी ओली आज घेराबन्दीमा हुनुहुन्छ’, उहाँले भन्नुभयाे ।

उहाँले ओली ‘देशका लागि अपरिहार्य’ र ‘इतिहासकै बलिया नेता’ भएको बताउनुभयो ।

यही सन्दर्भमा राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशबारे पनि धारणा राख्नुभएको थियो । ‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किन मिल्दैन’, राईको भनाइ छ, ‘यो उहाँको व्यक्तिगत इच्छा होइन, गणतन्त्रको प्रतीक राष्ट्रपति पदले उहाँलाई जीवनभर ओज र सम्मानमा राख्नुपर्छ ।’