काठमाडौं, ७ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षाका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताउनु भएको छ।
काठमाडौँमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दुईदिने बैठकमा बोल्दै नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको उल्लेख गर्नु भएको छ। ‘राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ, विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो’, उहाँले बताउनु भएको छ।
अध्यक्ष ओलीको नेतृत्वमा पार्टी र सरकारले धेरै महत्त्वपूर्ण कामहरू गरेको उहाँले बताउनुभयाे । थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु आवश्यक रहेको बताउनु भयाे ।
पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नु भएको छ, ‘सङ्गठनलाई मजबुत बनाउन सबैले जिम्मेवारीका साथ लाग्नुपर्छ।’
सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूलाई लक्षित गरी भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्ने धारणा राख्नु भयाे । ‘सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।
पार्टीका जिम्मेवारीमा बसेर पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइनुपर्ने थपलियाकाे धारणा छ । ‘पार्टीले गरेका राम्रा कामहरूलाई छायामा पार्ने गरी कतिपय व्यक्तिहरू आफ्नै पार्टीभित्रबाट षड्यन्त्र गरिरहेका छन्, ‘यस्ता कार्यलाई सहन सकिन्न, छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाइनुपर्छ’, उहाँले भन्नुभयाे ।
पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने उहाँकाे धारणाा छ । पार्टीभित्रको विश्वसनीयता तथा सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्