जनता टाइम्स

८ श्रावण २०८२, बिहीबार १८:००

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 


काठमाडौं, ८ साउन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।

निर्णयहरूमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । कार्यक्रम साउन १८ गतेका लागि तय गरिएको छ ।

यसै गरी जापानको टोकियोमा भदौ ९–१३ सम्म हुने एसियन प्यासिफिक ग्रुप अन मनि लौनड्रिङ कार्यक्रममा ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने मन्त्री गुरुङले बताउनुभयो ।

थाइल्याण्डको बैँककमा साउन १३–१५ गते आयोजना हुने सिएआरई फर साउथ एसिया वकसपमा सचिव गोविन्दबहादुर कार्की सहभागी हुने छ ।

जापानको ओसाकामा साउन १२–१३ मा हुने नेपाल दिवस कार्यक्रममा सचिव डा. रामप्रसाद घिमिरेले सहभागी हुनेछन् ।

यसै गरी सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजनाका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बाट प्राप्त १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छालाई पोल्याण्ड सरकारले प्रदान गर्न लागेको  अफिसरर्स कोर्स अफ द अडर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।

रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ ।

यसै गरी मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ  ।

नेपाल स्काउटसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरिएको छ ।

बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिका क्षेत्रभित्र पर्ने ९.८७५७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न विद्युत् प्राधिकरणलाई अनुमति दिइएको छ ।

दाना खोला जलविद्युत आयोजना निर्माणका लागि मनाङ जिल्लामा ४.८ हेक्टर राष्ट्रिय वन क्षेत्र लालुपाते हाइड्रोपावर कम्पनीलाई उपयोग गर्न स्वीकृति दिइएको छ ।