देउखुरी, ८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारका ७६ बुँदे उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ।
देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले सुशासनलाई केन्द्रबिन्दुमा राख्दै पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो। ‘चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रशासनिक कार्यसम्पादन, कर्मचारी व्यवस्थापन, र नीतिगत अनुगमनलाई व्यवस्थित गर्न मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ।’
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशले कानुन निर्माणमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले सामाजिक न्यायसँग सम्बन्धित बाँकी विधेयकहरू यसै अधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुभयो।
सो अवसरमा मुख्यमन्त्री ड्यासबोर्ड, ‘किसान एप’ र अभौतिक सांस्कृतिक सम्पदाको पुस्तक विमोचनसमेत गर्नु भएको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेलले एक वर्षे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको ‘किसान एप’ कृषि मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्