जनता टाइम्स

१२ श्रावण २०८२, सोमबार १३:१०

विद्युत आपूर्तिमा समस्यापछि फिल्डमा निस्किए प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव, चितवनहुँदै जनकपुरसम्म पुग्ने 


चितवनकाे विद्युत आपुर्तीकाे समस्या आजै समाधानको प्रयासमा प्राधिकरण, फिल्डमै पुगे हितेन्द्रदेव

काठमाडौं, साउन १२ । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहानै चितवन पुग्नु भएको छ ।

सकेसम्म आजैबाट विद्युत आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुग्नु भएको हो । चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गर्यो भनेर विभिन्न खाले हल्ला चलाइरहेका बेला शाक्य आफै त्यहाँको समस्या बुझ्न, तत्काल समाधान गर्न र आफ्ना कर्मचारीलाई छिटो काम सम्पन्न गर्न प्रोत्साहनका लागि फिल्डमै पुग्नु भएको हो ।

‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ सोमबार बिहान चितवन पुग्नु भएका शाक्यले भन्नुभयो,’ ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु ।’

उहाँले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरुलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिनुभयो । ‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरुसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु,’ उहाँले भन्नुभयो, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत आपूर्तिको अवस्थामा पुग्छौँ ।’

निरन्तरको वर्षाको समेत पर्वाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभरी पनि खटिरहेको भन्दै उहाँले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताउनुभयो ।

‘प्राविधिक साथीहरु रातभरी पनि काममा खटिइरहनु भएको छ । चनौली, हर्दीलगायतका ठाउँमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौ,’ उहाँले भन्नुभयो, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’

उहाँले मधेस प्रदेशको जनकपुरलगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भैरहेको छ र त्यसले विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरु देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्ने तयारीमा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरिसक्नु भएको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम ससकेर नयाँ ट्रान्फर्मर चार्ज भैरहेको जानकारी दिनुभयो । उहाँले त्यो ट्रान्फर्मर चार्ज भैसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुनेर सकेकसम्म आजैबाट नियमित विद्युत आपूर्ति हुनेमा आशावादी रहेको जानकारी दिनुभयो ।

‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३÷११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनमाको बाटो साँघुरो भएको र अत्याधिक लोडका कारण समस्या सिर्जना भएको हो,’ उहाँले भन्नुभयो, ‘यो समस्या सकेसम्म आजै समाधान गर्छौ । त्यसका लागि हाम्रो टोली रातभरी खटेर भए पनि समाधानको प्रयासमा निरन्तर लागेको छ ।’

चुनौली वितरण केन्द्रको क्षमता ३०० सय एम्पिएरसम्मको क्षमता भए पनि विद्युत माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जानकारी दिएको छ ।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्याधिक मात्रामा बढेको सिंचाई लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रान्सफर्मरहरु बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अबरुद्ध भएपछि चनौलीको लोडलाई नजिकैको सवस्टेशनमा सारेर ओभरलोडिङको समस्या समाधानका लागि उपकार्यकारी निर्देशक श्रेष्ठको नेतृत्वमा प्राधिकरणको टोली चितवनमा खटिरहेको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालिन व्यवस्थापन गर्नका लागि बसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको र सो लाइनपछि यो समस्या दीर्घकालिन रुपमा समाधान हुने पनि प्राधिकरणको भनाई छ ।