जनता टाइम्स

१२ श्रावण २०८२, सोमबार १७:३७

बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि सक्रिय


रामेछाप, साउन १२। सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६, छेत्पा बिप्पर कटेरीबाट एकै परिवारका १७ जना सदस्य बेपत्ता भएपछि उनीहरूको खोजीमा रामेछापको प्रहरी पनि सक्रिय भएको छ।

बेपत्ता भएकाहरूमा करिब ५६ वर्षीया उर्मिला हायु र उहाँका छोरा, बुहारी, छोरी तथा एक ज्वाइँ समेत गरी १७ जना रहेका छन्। उनीहरू सिन्धुलीबाट हराएको भए पनि रामेछापको हायु गाउँमा आफन्तकहाँ आएको हुन सक्ने आशंकामा यहाँ पनि खोजी कार्य थालिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार रामेछाप नगरपालिकाको क्षेत्रमै उनीहरूको अन्तिम मोबाइल लोकेसन देखिएकाले खोजी सुरु गरिएको हो, खोजी जारी छ, तर अहिलेसम्म पत्ता लागेको छैन।

रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ को हायु गाउँमा हायु समुदायको बसोबास रहेको छ। बेपत्ता परिवारका केही सदस्य त्यहीँका आफन्तकहाँ पुग्न सक्ने सम्भावना रहेकोले दुवै वडामा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

यसअघि, सिन्धुलीको गोलञ्जोर–६ स्थित एकान्तमा रहेको उर्मिला हायुको घरमा कुनै गतिविधि नदेखिएपछि छिमेकीहरूले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीय र प्रहरीले संयुक्त रूपमा खोजी सुरु गरेका हुन्।

वडाध्यक्ष रवीन श्रेष्ठका अनुसार हायु परिवारले बुधबार वा बिहीबारतिर परिवारका १८ जनाकाे सामाजिक सुरक्षा भत्ता बुझेको र सोही भोलिपल्टदेखि सम्पर्कविहीन भएको पाइएको छ। ‘भत्ता बुझेको भोलिपल्टबाटै सम्पर्कविहीन हुनु र कुनै जानकारी नदिनु आफैँमा रहस्यमय विषय हो,’ श्रेष्ठले बताउनुभयो।

श्रेष्ठले थप जानकारी दिँदै भन्नुभयो, ‘उनीहरूको घरको भान्सामा सामान्य आगलागी भएको देखिएको छ, भाँडामा राखिएको काटिएको सुँगुरको मासु भेटिएको छ, तर घरका सदस्यहरू सबै हराइरहेका छन्, घरपालुवा भैँसी, बाख्रा, कुखुरा पनि अलपत्र अवस्थामा छन्।’

श्रेष्ठका अनुसार उर्मिला हायुका श्रीमानको निधन भइसकेकाे छ। सो परिवारमा ६ छोरा, बुहारीहरू र ६ छोरी  र नातिनी छन् । ती मध्ये एक छाेरी काठमाडौँ र एक बुहारी विदेशमा रहेकी छन्। ‘जेठो ज्वाइँ पनि त्यही घरमै बस्दै आउनुभएको थियो,’ श्रेष्ठले बताउनुभयो।

प्रहरीले हराएका व्यक्तिहरूको खोजीका लागि विभिन्न सम्भावित गन्तव्यमा अनुसन्धान र खोजी कार्य तीव्र पारेकाे छ ।