काठमाडाैं, साउन १२ । सिन्धुलीमा २० अर्ब रुपैयाँ बराबरको भैँसीको मासु प्रशोधन उद्योग स्थापना हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार गत मङ्सिरमा चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार चीनको सिचुवान प्रान्तस्थित ‘छेन्दु जियान फुड कम्पनी’ले सिन्धुलीको मारिण गाउँपालिका–४ मा उक्त उद्योग स्थापना गर्न उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको हो।
प्रधानमन्त्री ओलीले लेख्नुभएको स्ट्याटसअनुसार, सो उद्योगले वार्षिक दुई लाख मेट्रिकटन भैँसीको मासु र ५५ हजार मेट्रिक टन छाला, भित्री अङ्ग, टाउको लगायत सहायक उत्पादन गर्नेछ। उद्योगबाट ५ हजार १५६ जनालाई रोजगारी सिर्जना हुने जनाइएको छ। उहाँले लेख्नुभएको छ, ‘गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ, उद्योगले वार्षिक २ लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्ने छ, यस उद्योगले ५ हजार १५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ, निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ’, उहाँले लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले यो लगानीलाई आफ्नो नेतृत्वमा भएको कूटनीतिक पहलको प्रतिफलका रूपमा उल्लेख गर्दै आर्थिक विकासतर्फको यो उपलब्धि उल्लेखनीय हुने दाबी गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्