हेटौंडा, साउन १३ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलभित्रको बहुमतको विश्वास गुमाउनुभएकाे छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा उहाँको पक्षमा १५ जना सांसद मात्र उभिनु भएकाे छ भने २२ जना सांसदले उहाँको विपक्षमा मत दिनुभएकाे छ । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा हाल ३७ जना सांसद छन् । दलको नेतामा रहनका लागि कम्तीमा १९ जनाको समर्थन आवश्यक पर्नेमा लामाले त्यो संख्या पुरा गर्न सक्नुभएन ।
मुख्यमन्त्री लामाविरुद्ध असन्तुष्ट पक्षले गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसमा २१ जना सांसदको हस्ताक्षर थियो । आज बसेको बैठकमा मन्त्री श्यामकुमार खड्काले पदबाट राजीनामा दिँदै खुलेर अविश्वास प्रस्तावको पक्षमा उभिनुभयो ।
सांसद माया श्रेष्ठले भने आफ्नो हस्ताक्षर कीर्ते भएको दाबी गर्दै लामाकै पक्षमा उभिनुभयो । तर बाँकी सांसदहरुको बहुमत विपक्षमा देखिएपछि लामाले विश्वास गुमाउनुभएकाे हाे ।
संसदीय दलका सचिव कृष्ण लामाले पत्रकारहरूसँग कुरा गर्दै आजको बैठकमा अविश्वासको प्रस्तावमाथि मात्र मत विभाजन गरिएको जानकारी दिनुभयाे । उहाँका अनुसार अब दलको नयाँ नेता चयन गर्ने प्रक्रिया दुई–तीन दिनभित्र सुरु हुनेछ ।
सचिव लामाले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसँग परामर्श गरेर संसदीय दलको बैठक बोलाइने र त्यसै बैठकमा नयाँ नेताको चयन गरिने बताउनुभयाे । संसदीय दलकाे नेतामा अब पार्टीका प्रदेश सभापति समेत रहनुभएका इन्द्र बानिया चुनिने करिब निश्चिच भएकाे छ । बानिय अब प्रदेशकाे मुख्यमन्त्री हुने निश्चित प्राय छ ।
लामाका पक्षधर सांसदहरूले भने यस घटनालाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गर्नुभएकाे छ ।
अब दलले नयाँ नेता चयन गरेपछि बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुने छ ।














प्रतिक्रिया दिनुहोस्