काठमाडौं, साउन १३ । पार्टी संसदीय दलमा विश्वास गुमाउनुभएको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
मंगलबार बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकमा उहाँको पक्षमा १५ जना सांसद मात्र उभिनु भएको थियो भने २२ जना सांसदले उहाँको विपक्षमा मत दिनुभयो । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलमा हाल ३७ जना सांसद छन् । दलको नेतामा रहनका लागि कम्तीमा १९ जनाको समर्थन आवश्यक पर्नेमा लामाले त्यो सङ्ख्या पुरा गर्न सक्नुभएन ।
पार्टी संसदीय दलको नेतामा बहुमत गुमाए पनि मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने लामाले बताउनुभएको छ । बैठक पछि पत्रकारसँग कुरा गर्दै लामाले कुनै एउटा दलको पूर्ण बहुमत नभएको अवस्थामा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको बताउनुभयो । संयुक्त सरकारमा १ सय १० जना प्रदेश सभा सदस्य मध्ये जसले बहुमत पुर्याउन सक्छ उही मुख्यमन्त्री हुने उहाँले दाबी गर्नुभयो । ‘संयुक्त सरकारमा बहुमत पुग्नु पर्ने हो, बहुमत पुग्यो भने हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले पार्टी संसदीय दलको नेता जो भए पनि आफूले मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने बताउनुभयो । ‘सरकारबाट राजीनामा दिने कुरै छैन, , सरकार एउटा पाटो हो, दल एउटा पाटो हो, मुख्यमन्त्री हुनको लागि दलको नेता चाहिँदैन’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्