काठमाडौं, साउन १५ । उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम भएको बताउनु भएको छ ।
नेपाली कांग्रेस रामेछाप, सुनापति गाउँपालिका–१ गुन्सीले आयोजना गरेको साउन १५ को खीर खाने कार्यक्रममा बोल्दै सिंहले पार्टी सञ्चालन गर्दा भएको सहमतिलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । ‘विश्वासको सङ्कट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन, सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दछ’, उहाँले भन्नुभयो ।
पार्टीलाई व्यवस्थित रूपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । २०५६ सालदेखि नै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उहाँले अहिलेको चुनौती सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको बताउँदै उहाँले पदमा पुगेपछि सोही अनुसारको आचरण सिक्नुपर्ने बताउनुभयो । वाग्मती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
सांसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर बन्दा भएको सात बुँदे सहमतिलाई कम आँक्न नमिल्ने उहाँको भनाइ छ । ‘सात बुँदे सहमतिलाई कम नआँकौँ, राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरू दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ, सात÷सात महिनामा सरकार परिवर्तन भएको भएकै थियो, नागरिकले सरकार त टिक्दैन भने सरकारले अरू के गर्छ ? भनेर प्रश्न गरिरहेका थिए, अहिले सरकारले स्थिरता पाएको छ, राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा रामेछापका नेताहरूले पार्टीभित्र अराजकता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।













प्रतिक्रिया दिनुहोस्