रामेछाप, १७ साउन । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल खोलाको कटानका कारण जोखिममा परेको छ ।
शुक्रबार राति आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे सवारी साधन बाहेक अन्य सवारी आवतजावत बन्द गरिएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘ठुला सवारी चल्दा सडक धसिन सक्छ, त्यसैले मर्मत नहुँदासम्म रोकिएको हो’, उहाँले भन्नुभयो ।
पुल खोल्न लागेपछि केही दिनअघि वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्लका सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मतको काम गर्न निर्देशन दिएको थियो । मर्मतको लागि केही काम सुरु भएको भए पनि शुक्रबार रातिको बाढीले मर्मतका लागि बनाइएका संरचना बगाएको वडाध्यक्ष पौडेलले बताउनुभयो । ‘अहिले तत्काल मर्मत नगरिए पुल नै जोखिममा पर्छ’, उहाँले भन्नुभयो ।

वडाध्यक्षका अनुसार खोलाले कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराइएको थियो । ‘हामीले यसअघि नै सरोकारवाला निकायमा पत्राचार गरेका थियौँ, तर समयमा काम नथाल्दा क्षति झन् बढेको छ’, उहाँले भन्नुभयो ।
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैकल्पिक मार्गको रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा र रामेछापका धेरै सवारी साधन यही बाटो भएर राजधानी जाने आउने गरेका थिए ।
खुर्कोटको पुल हाल पनि ठूला सवारीका लागि प्रयोगयोग्य नहुँदा भटौली खोलाको यो पुल हुँदै अहिले पनि मालवाहक ठूला गाडी काठमाडौं र तराई आउजाउ गर्छन् । तर पुलमा भएको क्षतिका कारण वैकल्पिक सडक नै रोकिएको छ ।
स्थानीयवासी र जनप्रतिनिधिहरूले पुल तत्काल मर्मत नगरिए रामेछापको दक्षिणी भेगसँग सदरमुकामको सम्पर्क नै विच्छेद हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । बर्खाको मौसममा खोलाको बहाव अझै बढ्न सक्ने भएकाले तत्काल जोखिम व्यवस्थापन गर्नु पर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्