सिन्धुली, साउन १७ । नेकपा माओवादीका नेता चोरी अभियोगमा दोषी ठहर भइ जेल चलान भएका छन । मोटरसाइकल चोरीमा अदालतबाट दोषी ठहर्याइएका मरिण गाउँपालिका वडा नम्बर ४ वडा कमिटीका अध्यक्ष टिकाराम स्याङ्तान जेल चलान भएका छन् ।
३ वर्षअघि २ वटा २२० सीसी पल्सर बाइक चोरीको अभियोगमा उच्च अदालत पाटनले स्याङ्तानलाई दोषी ठहर गरेपछि फरार थिए । स्याङ्तानलाई सिन्धुली प्रहरीले पक्राउ गरेर बुधबार जिल्ला अदालत सिन्धुलीमा बुझाएको थियो । अदालतले सजाय भुक्तानीका लागि कारागार चलान गरेको श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
२०७९ मा दुई थान मोटरसाइकल चोरीको अभियोगमा २५ दिन हिरासत बसाइपछि स्याङ्तान धरौटीमा छुटेका थिए । पछि जिल्ला अदालतले दोषी ठहर गरेपछि उच्च अदालत गएका थिए । उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेको हो ।
स्थानीय खयरसाल माविका विव्यस अध्यक्षसमेत रहेका ३४ वर्षीय स्याङ्तान माओवादी नेता एवं सांसद राजन दाहालका विश्वास पात्र हुन ।













प्रतिक्रिया दिनुहोस्