काठमाडौं, साउन २३ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मालाई खुसी पार्न गृहमन्त्रीले डिनर मिटिङ (खानपीन बैठक) गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका बिश्वासपात्र गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय थापा र शर्मालाई मनाउन बिहीवार राती डिनर मिटिङ गर्नुभएको हो ।
नक्सालको होटल मेरियटमा दुई महामन्त्रीसँग गृहमन्त्री लेखकले लामो छलफलसमेत गर्नुभएको उहाँको सचिवालय स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ । महामन्त्रीद्वय थापा र शर्मा सरकारबिरुद्ध भित्री गठबन्धनमा लागेको सूचनाका आधारमा सभापति देउवासँग परामर्शपछि गृहमन्त्री लेखकले डिनर मिटिङको बहानामा बिहीवार साँझ सवा तीन घन्टा लामो छलफल गर्नुभएको स्रोतको भनाई छ ।
पार्टी निर्णय स्वीकार गर्न बाध्य हुनुभएका महामन्त्रीद्वय थापा र शर्मा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेला संसद बैठक नै बहिष्कार गर्नुभएको थियो । नीति तथा कार्यक्रम जस्तो अति महत्वपूर्ण बिषयमा संसदमा पारित गर्ने बेला महामन्त्री थापा युरोप भ्रमणमा निस्कनुभएको थियो भने अर्का महामन्त्री शर्मा सगरमाथा आरोहणको लागि प्रशिक्षण भन्दै सगरमाथा बेशक्याम्पतिर हानिनुभएको थियो ।
त्यसपछि पनि दुवै महामन्त्री सरकारको कामलाई बल पुर्याउनभन्दा पनि लोकप्रियतावादको शिकार भएर अन्टसन्ट कुरा गर्ने र सरकारको पक्षमा कँहीकतै नबोली उल्टो भडकाउने र बिरुद्धमा जनमत तयार गर्ने काममा लागेको बुझाइ सभापति देउवाकै रहेको छ । यहीबीचमा सरकारले ल्याएका कतिपय विधेयकमा पार्टीभित्र मात्र नभई सार्वजनिक रुपमा आलोचना गर्ने र परिस्थिति भडकाउने काममा लागेपछि गृहमन्त्री लेखकले कांग्रेसका दुवै महामन्त्रीसँग बिहीबार साँझ संयुक्त छलफल गर्नुभएको हो ।
‘छलफलमा गृहमन्त्रीले तपाईहरुको गुनासो के हो ? कसरी सम्बोधन गर्न सकिन्छ ? चाहिएको के हो ? भन्ने बिषयमा खुलाखुलस्त कुरा गर्नुभयो । मेरो कुरा मात्रै होइन, सभापतिकै तर्फबाट म कुरा गर्दैछु भनेर उहाँहरुलाई आश्वस्त गर्नुभएको छ । महामन्त्रीद्वयले सरकारमा आफूहरुले भनेको कुनै काम नभएको र आफूनिकट मन्त्रीहरुलाई दिलखोलेर काम गर्न पार्टी नेतृत्व र सरकारको नेतृत्वबाट सहयोग नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ,’ डिनर मिटिङको निश्कर्ष सुनाउँदै जनताटाइम्स डटकमको जिज्ञासामा स्रोतले भन्यो ।
छलफलमा दुवै महामन्त्रीको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता गृहमन्त्री लेखकले गर्नुभएको बताइएको छ । खासगरी प्रहरी र कर्मचारीको सरुवा बढुवामा सरकारमा रहेका मन्त्रीहरुले कुरा नसुनेको भन्दै दुवै महामन्त्रीले गृहमन्त्री लेखकसँग आपत्ति जनाउनु भएको स्रोतको भनाइ छ । कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा कर्मचारी सरुवा-बढुवा, राजदूत नियुक्ति र प्रहरीको सरुवा–बढुवामा बिशेष चासो राख्ने र दवाव दिने काममा ख्याती कमाउनु भएको कारण पनि गृहमन्त्री लेखकले संयुक्त रुपमा बिशेष छलफल गर्नुपरेको देउवानिकट स्रोतले बताएको छ ।
यस्तै निजामती विधेयकमा राज्यब्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा आउनु पर्ने अभिब्यक्ति दिएपछि पार्टीभित्रको लडाईसमेत सतहमा आएको छ । संसदीय विशेष समितिले राज्य व्यवस्था समितिका सभापति खतिवडालाई नैतिक र राजनीतिकरुपमा जिम्मेवार ठहर गरेपछि कांग्रेस नेतृत्व दबाब रहेको छ । थापा र शर्माले खतिवडा चुकेको भन्दै राजीनामा मागिसक्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्