जनता टाइम्स

२३ श्रावण २०८२, शुक्रबार १८:१७

वाग्मतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने


काठमाडौं, साउन २३ । वाग्मती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१०) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरूप उहाँले सो मितिमा प्रदेशसभाबाट विश्वासकाे मत लिन लाग्नु भएकाे हाे । त्यसका लागि साउन २७ गते दिउँसाे ४ बजे प्रदेश सभा बैठक बाेलाइएकाे छ ।

साउन २० गते मुख्यमन्त्री पद ग्रहण गर्नुभएको बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले) का २७ गरी कुल ६४ सांसदको समर्थनमा सरकार गठन गर्नुभएको थियो। उहाँ नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता समेत हुनुहुन्छ ।

पहिले उहाँकै दलका तत्कालीन नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै बानियाले दलको नेतृत्व लिनुभएकाे हाे ।  त्यसपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य पार्दै उहाँ साउन १२ गते मुख्यमन्त्री बन्नु भएकाे हाे ।