जनता टाइम्स

२५ श्रावण २०८२, आईतवार ०८:१९

गाडी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते


रामेछाप, साउन २५ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा महेन्द्रको बा १३ च ३९३५ नम्बरको डबल क्याप स्कारपियो पिकअप गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने उहाँका श्रीमान् गम्भीर घाइते हुनुभएकाे छ ।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटाैँडा जाँदै गरेको निजी गाडी मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयाे।

दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल शव निकालिएको छ।

घाइते भएका उहाँका श्रीमान् उत्तम चौहानकाे मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारकाे लागि काठमाडाैं पठाइएकाे छ। गाडीको नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।