यहाँ पञ्चतन्त्रको एउटा कथा स्मरणीय छ । एउटा फ्याउरो लटरम्म पाकेका अङ्गुरको बगैंचामा पुग्दछ । त्यो फ्याउरो अग्लो ठाउँमा झुण्डिएको अङ्गुरको झुप्पो टिप्न आफ्नो सम्पूर्ण तागत लगाएर उफ्रन्छ । लामो समयसम्म उफ्रँदा पनि अङ्गुरको झुप्पो छुन नसकेपछि ‘यो अङ्गुर अमिलो छ’ भनेर त्यो फ्याउरो लाखापाखा लाग्छ । अहिले प्रचण्डलाई सरकार ‘अङ्गुर अमिलो’ भएको छ ।
निर्मल भट्टराई
प्रमुख प्रतिपक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको सत्ता गठबन्धन बनेपछि केही समय निरन्तर भाषण गरिरहे, ‘यो गठबन्धन लामो टिक्दैन, केही दिनमै ढल्छ । उनले यो पनि भने, आफूसँग जादुमय सङ्ख्या छ, त्यही जादुमय सङ्ख्याले फेरि माओवादी सत्तामा पुगिहाल्छ ।’ मानौं, एमाले–कांग्रेसको गठबन्धन भत्काउने काम प्रचण्डको बाँया हातको खेल हो । उनले आफूलाई सत्ता–खेलका महारथीको रूपमा प्रस्तुत गरिरहे । एमाले र कांग्रेसको तागतको अवमुल्यन गरिरहे ।
प्रचण्ड सत्ताको खेलमा निरन्तर लागिरहे । कहिले उनले देउबाको कान भरे(एमालेले नेपाली कांग्रेसलाई सहजै सत्ता हस्तान्तरण गर्दैन, ओली सोचेभन्दा खतरा छन्, पहिलेझैं संसद भङ्ग गर्ने दाउमा छन आदि भनेर। उनले एमालेलाई खबर पठाए ,नेपाली कांग्रेसले एमालेलाई काम गर्न दिंदैन, घेराबन्दी गर्छ, एमालेको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको लामो सत्ता सहकार्य एमालेका लागि घातक हुन्छ, वामपन्थीहरू मिलेर सरकार बनाउँदा राम्रो हुन्छ, कांग्रेसजस्तो दक्षिणपन्थी शक्तिसँग एमालेजस्तो शक्ति लत्रिएर जानु हुँदैन आदि ।
प्रधानमन्त्रीको सफल चीन भ्रमण देखाएर छिमेकी भारतलाई भड्काउन प्रयत्न गरे। ओली भारतविरूध्द ‘चाइना कार्ड’ प्रयोग गर्दैछन् भने । भारतलाई ओलीविरूध्द निकै उचाल्न सकियो भने कांग्रेस(एमाले गठबन्धन भत्कन सक्छ भन्ने उनको अनुमान फेल खायो । अहिले प्रधानमन्त्रीको भारत भ्रमण तय हुँदै गर्दा ‘अनुनय विनय गरेर भ्रमण मिलाएको’ जस्ता हल्काफुल्का टिप्पणी माओवादी वृत्तबाट सुरू भएको छ ।
भिजिट भिजा प्रकरणमा केही समय प्रचण्ड सल्बलाए । एमाले र कांग्रेसबाहेकका दलहरू बटुलेर संसद अवरूध्द गरे । अराजकतावादी र राजावादीसँग मिलेर सरकारविरूध्द आकाश पाताल जोड्ने प्रयत्न गरे । यथार्थभन्दा हौवाको बढी सहारा लिइएको उक्त प्रकरणमा आफू फस्ने देखेपछि प्रचण्ड भिजिट भिजाको जगमा बनेको विपक्षी गठबन्धनबाट उनी अलग्गिए । वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासस्वरूप प्रचण्डले नेपाली कांग्रेसका संस्थापन इतरका नेता डाक्टर शेखर कोोइरालालाई प्रधानमन्त्रीको अफर गरे । उनलाई संसदमा आवश्यक गणित पुर्याउन सुझाए । शेखरले पनि केही दिन आवश्यक सङ्ख्या पुर्याउन कसरत गरे। नसकिने देखेपछि शेखरले हात उठाए । त्यता पनि प्रचण्डको ट्रिक काम लागेन।
पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय रूपमा एमालेको राजनीति गर्ने सङ्केत पाएका प्रचण्डले ओलीको कारण कम्युनिष्ट एकता नभएको र भण्डारीले एमालेको नेतृत्व लिन सके नेपालमा भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकता हुने गुलियो सन्देश पठाए। एमालेको नवौं बैठकले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका कोही पनि एमालेको सक्रिय राजनीतिमा फर्कन नसक्ने निर्णय गरेपछि एमालेमा सुँड पसाउन सक्ने कुनै ठाउँ प्रचण्डलाई बाँकी रहेन।
नेपाली कांग्रेस र एमाले आफ्नो सात बुँदे सहमतिमा अडिग रहेपछि, ०८४सम्म वर्तमान सत्ता गठबन्धन टिकाउनबाट टसमस नभएपछि प्रचण्डको भाषा हिजोआज फेरिन थालेको छ । सत्ता गठबन्धन भत्काउन भगीरथ प्रयत्न गरेका प्रचण्ड अब थाकेको जस्तो देखिन्छ । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा हालै प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’
यहाँ पञ्चतन्त्रको एउटा कथा स्मरणीय छ । एउटा फ्याउरो लटरम्म पाकेका अङ्गुरको बगैंचामा पुग्दछ । त्यो फ्याउरो अग्लो ठाउँमा झुण्डिएको अङ्गुरको झुप्पो टिप्न आफ्नो सम्पूर्ण तागत लगाएर उफ्रन्छ । लामो समयसम्म उफ्रँदा पनि अङ्गुरको झुप्पो छुन नसकेपछि ‘यो अङ्गुर अमिलो छ’ भनेर त्यो फ्याउरो लाखापाखा लाग्छ । अहिले प्रचण्डलाई सरकार ‘अङ्गुर अमिलो’ भएको छ । आफ्नो ‘जादुमयी सङ्ख्या’को वास्तविक औकात थाहा पाएपछि, धरातलीय यथार्थमा आफूलाई पाएपछि प्रचण्डको टेन्सनको पारो निकै घटेको अनुमान गर्न कठिन छैन ।













प्रतिक्रिया दिनुहोस्