जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १५:५७

अस्थिरताको जतिसुकै चाहना राखे पनि २०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री ओली


काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गर्ने र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउने उद्देश्यले संसद्का दुई प्रमुख दल मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार बनेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले विपक्षी दलहरूलाई स्थिरता अति अप्रिय लागेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीका अनुसार प्रमुख दल कांग्रेस र एमालेसँग मात्र संसद्मा भारी बहुमत छ, त्यसमा अन्य दलहरू पनि सरकारमा सहभागी छन् । ‘सरकार बनाउने संसद्को गणितले हो, बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो प्रवृत्ति देशका लागि होइन,’ उहाँले स्पष्ट पार्दै भन्नुभयो, ‘अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

उहाँले लोकतन्त्रको संरक्षण र संवर्द्धनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भन्नुभयो, ‘लोकतन्त्रका लागि लड्ने र जेलनेलसहितको यातना भोग्ने हामी यहीँ छौँ, हामीलाई यो प्रणाली ज्यान सरह प्रिय छ, यसको जीवनका लागि हामी जस्तोसुकै कष्ट सहन पनि तत्पर छौँ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू पनि यहीँ रहेका र केहीले लोकतन्त्रको संवर्द्धन नभई त्यसको दुरुपयोग गर्ने अभिष्ट राखेका बताउनुभयाे । तर त्यो अभिष्ट पुरा हुने कुनै सम्भावना नरहेकाे उहाँले स्पष्ट पार्नुभयाे ।