काठमाडौं, भदौ ४ । नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले पार्टीको निर्णयको सबैले पालना गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले दोलखाको सातौँ पूर्ण बैठकको निर्णय सार्वजनिक कार्यक्रमलाई बुधबार चरिकोटमा सम्बोधन गर्दै गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि पार्टीको निर्णयलाई सम्मान गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति राष्ट्रकै गौरव र अभिभावक तथा गणतन्त्रको प्रतीक भएकोले भण्डारी पुनः पार्टी राजनीतिमा फर्कनु नहुने निर्णय पार्टीले गरेको उहाँले स्मरण गराउनुभयो ।
उहाँले पार्टीमा द्वन्द्व र विभाजन ल्याउने काम कसैले गर्नु नहुने बताउनुभयो । ‘उहाँ एमालेबाट दुई पटक राष्ट्रपति भएको व्यक्ति हो, दुई पटक केन्द्रीय उपाध्यक्ष भएको व्यक्ति हो, हाम्रो पार्टीका जननेता मदन भण्डारीको धर्मपत्नी पनि हो, उहाँ जस्तो व्यक्तिले पार्टीको निर्णयलाई अस्वीकार गर्ने, अपमान गर्ने र पार्टी निर्णयलाई नमान्ने भन्ने मिल्दैन, मदन भण्डारीको आत्माले पनि अस्वीकार गर्ने निर्णय उहाँले गर्न मिल्दैन भन्ने हाम्रो ठहर हो र निर्णय हो’, उहाँले भन्नुभयो ।
एमालेको मिसन २०८४ लाई सफल बनाउने योजनामा पूर्वराष्ट्रपति भण्डारीले भाँजो हाल्नु हुन्न भन्ने कुरामा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो । अहिले एमालेको सो अभियानलाई सफल हुन नदिन विरोधी लागेकाले त्यसमा पूर्वराष्ट्रपति भण्डारी पनि सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
यति बेला सबैले माग गरेको नेता केपी आली नै भएको उहाँले दाबी गर्नुभयो । ‘अहिले एमालेमा केपी ओलीको विकल्प छैन, केपी ओलीको विकल्प केपी ओली नै हो, अब हुने महाधिवेशनको अध्यक्ष पनि केपी ओली नै हो, मिसन २०८४ को प्रधानमन्त्री पनि केपी ओली नै हो, यो कुरोलाई सबै नेताहरूले मान्नु पर्छ, पार्टीको यो निर्णयलाई स्विकार्नु पर्छ’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्