जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार १८:००

पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि निरन्तर एमालेकै सदस्य र कार्यकर्ताका रूपमा योगदान गर्छु : विद्यादेवी भण्डारी


काठमाडौं, भदौ ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् निरीह थलो बनेको टिप्पणी गर्नुभएको छ । उहाँले संसद्ले जनअपेक्षा अनुसार काम गर्न नसक्दा नागरिकस्तरमा नकारात्मक सन्देश गएको बताउनुभयो ।

बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले ठूला राजनीतिक दलहरूले संविधानकै आधारमाथि प्रश्न उठाइरहेका तर त्यसको बौद्धिक बहसलाई भने बेवास्ता गरिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । संविधान संशोधन गर्नुपर्ने सहमति दलहरूले गरे पनि कार्यान्वयन नगरेको कारण आजसम्म पनि देशमा संविधानको स्थायित्व र विश्वसनीयता मजबुत बनाउन नसकिएको उहाँको धारणा छ। उहाँले भन्नुभयो, ‘संसद् निरीह थलो जस्तो भएर बस्दा जनमानसमा राम्रो सन्देश गएको छैन, संविधानबारे गम्भीर बहस हुनुपर्ने ठाउँमा अझैसम्म त्यस किसिमको विमर्श हुन सकेको छैन ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपालको शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता तीव्र रूपमा देखिएको भए पनि शिक्षा सम्बन्धी प्रभावकारी कानुन बनाउन नसकिएकोप्रति असन्तुष्टि प्रकट गर्नुभयो । शिक्षा समाजको आधारशिला भएकाले यसमा ढिलासुस्तीले दीर्घकालीन असर पार्ने भण्डारीको भनाइ छ ।

उहाँले आफ्नो राजनीतिक यात्राबारे पनि स्मरण गर्दै निरन्तर एमालेकै कार्यकर्ताको रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित रहेको र एमालेकै आन्दोलनमा जीवनभर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । भण्डारीले पार्टी इतिहासलाई स्मरण गर्दै भन्नुभयो, ‘म भोजपुरमा जन्मेकी हुँ, त्यो बेला धनकुटामा रातो झण्डा ग्रुप भन्ने समूह थियो, हामी त्यससँग सम्पर्कमा थियौँ, बिस्तारै को–अर्डिनेशन सेन्टर जन्मियो, त्यसपछि माले बन्यो, माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमै गरेका थियौँ ।’

उहाँले अहिले एमालेलाई एउटा ‘ब्रान्ड’ जस्तो बनाइएको चर्चा गर्दै यसको वास्तविक रूप नेपाल कम्युनिष्ट पार्टी भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार, माले र मार्क्सवादी एकता भएर ‘एकीकृत मार्क्सवादी–लेनिनवादी’ (एमाले) बनेको हो  । जसको मूल सिद्धान्त मार्क्सवाद र लेनिनवादमै आधारित छ । उहाँले भन्नुभयो, ‘हामी मार्क्सवादी र लेनिनवादीका अनुयायी हौँ, त्यसैले पार्टीको नाम पनि यही एकताको उपज हो, अहिले एमालेलाई ब्राण्ड जस्तो बनाउने प्रयास भए पनि यसको वास्तविक पहिचान नेपाल कम्युनिष्ट पार्टी नै हो ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तका रूपमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई अङ्गीकार गरेको स्मरण गर्दै यसको मर्म र भावनाअनुसार काम भइरहेको छ वा छैन भन्नेबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारदेखि २०५० सालको निर्वाचनसम्म एमाले निरन्तर सरकारमा सहभागी रहँदै आएको उल्लेख गर्दै प्रत्येक अवधिमा पार्टीले आफ्ना सिद्धान्तअनुसार नीति लागू गर्न सकेको छ वा सकेन भन्नेबारे पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँको भनाइमा, सरकारमा सहभागिता लिनु भनेको केवल सत्ताको हिस्सा बन्नु मात्र होइन, आफ्ना सिद्धान्त र जनअपेक्षा अनुसार ठोस काम गर्नु पनि हो । आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्टीले कस्तो योगदान दिन सक्यो भन्ने प्रश्नमा आजको पुस्ताले समीक्षा गर्नुपर्ने उहाँको विचार थियो ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीले जिम्मेवारी देओस् वा नदेओस्, आफू निरन्तर कार्यकर्ताको हैसियतमा काम गर्ने दृढ सङ्कल्प गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले जीवनभर राजनीतिक आन्दोलनलाई नजिकबाट हेरेकी छु, पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि मलाई त्यसमा फरक पर्दैन, म निरन्तर एमालेकै सदस्य र कार्यकर्ताका रूपमा योगदान दिइरहनेछु ।’