जनता टाइम्स

९ भाद्र २०८२, सोमबार २१:५१

देशका सबै मानिसले राजनीति गर्न आवश्यक छैन : राधिका शाक्य


काठमाडौं, भदौ ९ । प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिसले राजनीति गर्नु आवश्यक नभएको बताउनुभएको छ । उहाँले प्रत्येक व्यक्तिको रुचि फरक हुने भएकाले आफ्नो रुचिअनुसारको क्षेत्रमा काम गर्नु नै उचित हुने सुझाव दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले नेपालमा ‘पोलिटिक्समा मात्र सफल भएकालाई सफल मान्ने समाजको मानसिकता’ कारण धेरै मानिस राजनीति तर्फ आकर्षित हुने गरेको टिप्पणी गर्नुभयो ।

‘देशमा भएको सबै मानिसले पोलिटिक्स गरेर हुँदैन,’ शाक्यले भन्नुभयो, ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ, अरु क्षेत्रमा सफलता हासिल गर्ने मानिसलाई त्यस्तो सफल मानिँदैन भन्ने हाम्रो सोच छ, तर त्यस्तो होइन ।’

उहाँले युवा संघलाई समाजमा रहेका विकृति र विसंगति विरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा फैलिएका नकारात्मकता, एक–अर्काको खुट्टा तान्ने प्रवृत्ति, ईर्ष्या र डाहा गर्ने संस्कारले प्रगति रोकिएको भन्दै यस्तो प्रवृत्ति अन्त्य गर्न युवाले अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

शाक्यले युवालाई सचेत र विवेकशील भएर अगाडि बढ्न आग्रह गर्दै भन्नुभयो, ‘तपाईंहरू आजको वर्तमान र भोलिको भविष्य हो, तपाईंहरू राम्रो बाटोमा लाग्नुभयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ, वर्तमान पनि राम्रो हुन्छ तर, युवाहरू बिग्रिए वा बरालिए भने भविष्य पनि अन्धकारमय हुन्छ ।’

उहाँले अहिलेको समाजमा सुझबुझ, विवेक र अनुशासनको आवश्यकता रहेको भन्दै सबैले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ‘कसैले पनि इमानदारिता, अनुशासन र धर्यता गुमाउनु हुँदैन,’ शाक्यले भन्नुभयो ।

सम्बोधनका क्रममा उहाँले कतिपयले प्रधानमन्त्रीलाई धनी व्यक्तिहरूको सूचीमा राख्ने गरेको उल्लेख गर्दै, ‘हामी भौतिक सम्पत्तिमा धनी नभए पनि इमान र धर्यतामा धनी छौँ,’ भन्नुभयो । उहाँका अनुसार, जनताले देखाएको विश्वास, माया र समर्थन नै सबैभन्दा ठूलो धन हो ।

युवामा धैर्यता हुनुपर्नेमा जोड दिँदै शाक्यले भन्नुभयाे, ‘युवा भएको मात्र आधारमा सबै कुरामा सम्पन्न हुँदैन, मानिसहरू ज्ञान र अनुभवसँगै खारिँदै जाने हो । त्यसैले धैर्यता, अनुशासन र इमानदारीका साथ अघि बढ्नुपर्छ ।’