हेटौँडा, १३ भदाै । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शुक्रबार विभिन्न सरकारी तथा धार्मिक संस्थालाई डिजिटल अटोमेटिक रक्तचाप परीक्षण यन्त्र हस्तान्तरण गर्नुभएको छ।
मन्त्री थापाले वाग्मती प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति भक्तपुर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिलाई गरी पाँच थान यन्त्र हस्तान्तरण गर्नुभएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार रक्तचापसम्बन्धी रोगको समयमै रसहजै पहिचान गर्ने तथा नियमित स्वास्थ्य परीक्षणलाई सहज र प्रभावकारी बनाउन ती मेसिनहरु हस्तान्तरण गरिएकाे हाे। हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सानो उपकरण भए पनि यसले जनस्वास्थ्यको क्षेत्रमा ठुलो योगदान दिन सक्ने बताउनुभयो। उहाँले वाग्मती प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार र नागरिकलाई सजिलै उपचार सुविधा उपलब्ध गराउन निरन्तर काम गरिरहेको भन्दै यस किसिमका कार्यक्रमले प्रदेशको स्वास्थ्य प्रणालीलाई थप सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री थापाले स्थानीय तहदेखि प्रदेशस्तरका कार्यालयसम्म यस्ता उपकरणको उपयोगले समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो। उच्च रक्तचापलाई ‘मौन घातक रोग’ भनेर चिनिने भएकाले यसको प्रारम्भिक जाँचलाई प्राथमिकतामा राख्नु प्रदेश सरकारको रणनीतिक योजनामध्ये एक हो।
यसअघि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा यस्ता स्वास्थ्य परीक्षण उपकरण वितरण गर्दै आएको छ। मन्त्रालयले अन्य जिल्लाका प्रमुख सरकारी कार्यालय र सामुदायिक संस्थाहरूसमेतलाई आवश्यकताअनुसार सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्