भक्तपुर, भदौ १७ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशका सबै नागरिक एक घण्टाभित्रै नजिकको स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था बनेको दाबी गर्नुभएको छ।
मङ्गलबार चाँगुनारायण नगरपालिका–८ सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री थापाले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनेतर्फ प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। ‘समयमै स्वास्थ्य परीक्षण नहुँदा धेरैको अकालमै मृत्यु हुने गरेको छ, त्यसैले अब समुदाय स्तरमै स्वास्थ्य जाँच गर्ने र घर–घरमा स्वास्थ्यकर्मी खटाउने काम अघि बढाइन्छ,’ उहाँले भन्नुभयो।
मन्त्री थापाले रोग नियन्त्रणका लागि अब योग, प्राणायाम, साधना र व्यायामलाई स्वास्थ्य कार्यक्रमसँगै जोडिने जानकारी दिनुभयो। ‘यसका लागि आवश्यक सामग्रीको तयारीमा प्रदेश सरकार जुटिरहेको छ,’ उहाँले बताउनुभयो।
मन्त्री थापाका अनुसार अब भक्तपुरवासीलाई उपचारका लागि साँगा वा मनोहरा पार गरेर काठमाडौँ जानुपर्ने छैन। प्रादेशिक अस्पतालमार्फत सिटी स्क्यान, डिजिटल मेमो ग्राम, डाएलाइसिसलगायत सेवा लिन सकिने उहाँको भनाइ थियो।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी नागरिकले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षसम्म स्वास्थ्य उपचार पाउने व्यवस्था रहेको जानकारी पनि उहाँले दिनुभयो।
मन्त्री थापाले विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा नर्सको सङ्ख्या बढाउँदै लगिएको बताउनुभयो। ‘विद्यार्थी शुद्ध मन र निर्मल भावनाका धनी मात्र नभई भोलिका जिम्मेवार नागरिक पनि हुन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूको शिक्षा, स्वास्थ्य, अधिकार र सिप विकासलाई मजबुत बनाउन सरकार दृढ छ।’
उहाँले सरोकारवालाहरूलाई पनि बालबालिकाको शिक्षा, स्वास्थ्य, संस्कार र सुरक्षित वातावरणमा ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी र उत्कृष्ट शिक्षकलाई सम्मान पत्र र पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्