जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार ०९:४६

मन्थलीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना र्‍याली


रामेछाप, भदौ २० । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार रामेछापको जिल्ला मुख्यालय मन्थलीमा सचेतना र्‍याली आयोजना गरिएको छ ।

मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभात फेरी मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले मानव बेचबिखन जस्तो अपराध रोकथामका लागि समाजका प्रत्येक तह र वर्गले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘यो केवल कानुनी कारबाहीले मात्र रोकिँदैन, नागरिक समाजदेखि विद्यालयसम्म सबै सचेत र जिम्मेवार बन्नुपर्छ ।’

त्यस्तै, मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाले दिवसलाई प्रभावकारी बनाउनका लागि सबै वडा र विद्यालयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार विद्यालयस्तरमा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई समेत यस विषयमा सचेत गराउने प्रयास गरिएको छ ।

र्‍यालीमा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, व्यवसायी तथा विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता थियो ।