-नवराज पथिक-
काठमाडौं, भदौ २०। नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ११ बजे गर्नुहुने छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभागका सदस्य राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३ सय ४१ जना सहभागी छन् । अधिकांश प्रतिनिधिहरू बिहीबारसम्मै काठमाडौं आइपुगिसकेको गौतमले जानकारी दिनुभयो ।

स्वागतद्वारदेखि डिजिटल व्यवस्थासम्म
महाधिवेशन स्थल पुग्ने सातदोबाटोदेखि गोदावरीसम्म १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, सुखी नेपाली समृद्ध नेपाल हाम्रो गन्तव्य’ तय गरिएको छ ।
उद्घाटन सत्रमा डिजिटल प्रविधिको प्रयोग गरिएको छ । प्रतिनिधिहरूको परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटर बुथ तयार छन् । त्यही बुथमार्फत प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकले प्रवेश गर्नेछन् । प्रवेशका लागि ४ वटा डिजिटल ढोका बनाइएको छ ।
हलमा प्रवेश गर्दा दायाँपट्टि प्रधानमन्त्री ओलीको पूर्णकदको तस्बिर राखिएको छ भने भित्ताभरि एमाले र महाधिवेशनको लोगो सजाइएको छ । बाहिरी प्राङ्गणमा पानी फोहोरासहितका साना पोखरीमा सेता हाँस खेलाइएका छन् । परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारी, साथै कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स र लेनिनका पूर्णकदका तस्बिर राखिएका छन् ।

उद्घाटनपछि प्रतिवेदनहरू
महाधिवेशनको उद्घाटन कार्यक्रम छोटो राखिएको छ । उद्घाटन कार्यक्रमपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । हिजो सम्पन्न सचिवालय बैठकले उक्त प्रतिवेदन पारित गरिसकेको छ ।
त्यसपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नुहुने छ भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नु हुने छ। साथै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिनेछ ।
बिहानको उद्घाटनपछि दिउँसो १ बजे ‘खाजा ब्रेक’ राखिएको छ भने साँझ ५ बजेसम्म आजका सबै कार्यसूची सकिने कार्यक्रम रहेको छ ।
झाँकीमार्फत विविधता प्रदर्शन
मञ्च व्यवस्थापन समितिका संयोजक एवं पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जातजाति र समुदायका झाँकी प्रदर्शन हुनेछन् । हलभित्र रहेका प्रतिनिधिहरूले ती दृश्यहरू डिजिटल बोर्डमार्फत अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
आगामी कार्यसूची
भोलि (शनिबार) सहभागीलाई नौ वटा समूहमा विभाजन गरी विभिन्न प्रतिवेदनमाथि छलफल गरिनेछ । आइनबार समूहगत छलफलका प्रतिवेदन प्रस्तुत गरिने र त्यसपछि अध्यक्ष ओलीको समापन सम्बोधनसहित महाधिवेशन सकिनेछ । एमालेले यसअघि २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमै आयोजना गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीलाई थप बलियो नेतृत्वको रूपमा पुनः स्थापित गर्ने महाधिवेशन
यो महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप बलियो नेतृत्वको रूपमा पुनः स्थापित गर्ने महाधिवेशन बन्दै छ । विगतमा पार्टी विभाजन, एमाले–माओवादी एकताको असफलता र आन्तरिक असन्तुष्टिका बाबजुद ओली पार्टीभित्र निर्विवाद नेता बन्नुभएको छ ।
उहाँको राजनीतिक शैली – कडा आलोचकलाई समेत व्यवस्थापन गर्ने, संगठनलाई जस्तोसुकै असहज अवस्थामा पनि सिरमा राखेर हिँड्ने स्वभाव यो महाधिवेशनमा पनि देखिने छ । यो महाधिवेशनले आउने नेतृत्व चयनको महाधिवेशनमा ओलीलाई निर्विकल्प अध्यक्षको रूपमा अघि बढाउने छ ।
आगामी निर्वाचन र एमालेका चुनौती
आगामी संघीय निर्वाचनलाई एमालेले एकल बहुमतको सरकार बनाउने मिसनको रूपमा लिएको छ । जसलाई एमालेले मिसन ८४ भनेको ५ । २०७९ को निर्वाचनमा सबै दल एकातिर र एमाले एकातिर भएर चुनाव लडेका थिए । त्यति हुँदा पनि लोकप्रिय मत्तको हिसाबले पहिलो र सिट सङ्ख्याको हिसाबले एमाले दोस्रो पार्टी बनेको थियो । २०८४ को निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सम्भावना निक्कै कम छ ।
यस्तो अवस्थामा एकल बहुमत ल्याउनको लागि एमालेले कस्तो रणनीति बनाउने भन्ने कुरा पिन यो महाधिवेशनले तय गर्ने छ । एकल बहुमतमा पुग्नको लागि बाह्य शक्तिसँग लड्नु पर्ने चुनौती त एमालेलाई छँदै छ, आफ्नै पार्टी भित्र मौलाएको संगठनात्मक अराजकता र अवसरवादी चरित्र एमालेको लागि चुनौती बनेको छ । त्यस्ता चरित्रलाई यो महाधिवेशनबाट निर्मम रूपमा चिरेर अघि नबढ्ने हो भने एमालेलाई लक्षमा पुग्न निक्कै गाह्रो छ ।

एमाले महाधिवेशनले समाजलाई दिने सन्देश
महाधिवेशन स्थलमा विभिन्न जातजाति र समुदायका झाँकी देखाइने व्यवस्था गरिएको छ । यसले एमालेले विविधता र समावेशितामाथि दिएको जोडलाई देखाउँछ । एमाले झाँकीले मात्र समावेशिता देखाउँछ, व्यवहारमा अझै एमाले नेतृत्व क्षेत्रीय र जातीय विविधतामा खारिन बाँकी छ भनि विरोधीले गर्ने गरेको आलोचनालाई यो महाधिवेशनले चिर्न सक्नु पर्दछ ।
एमालेले पार्टी भित्रैका असन्तुष्टि, युवापुस्ताको अपेक्षा, मधेस र जनजाति क्षेत्रमा देखिएको कमजोर उपस्थितिको सन्तुलनलाई मिलाएर लैजाने बोल्ड डिसिजन गर्न सक्यो भने आगामी यात्रा निक्कै सहज हुने छ ।
निष्कर्ष
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन केवल संगठनात्मक विधान परिमार्जनको प्रक्रिया मात्र होइन, राष्ट्रिय राजनीतिमा आफ्नो भावी भूमिकाको घोषणा पनि हो ।
अध्यक्ष ओली यस महाधिवेशनमार्फत ‘स्थिर नेतृत्व, विकास र समृद्धि’को नारा अघि सार्दै आफूलाई अझै प्रमुख विकल्पको रूपमा प्रस्तुत गर्न चाहनामा हुनुहुन्छ। यसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उहाँको पक्षमा खुलेका केही नेताहरूको सार्वजनिक अभिव्यक्ति विरोधीलाई कुरा काट्ने ठाउँ बनेको छ । त्यो पाटोलाई पिन ओलीले मिलाएर लानु पर्ने देखिन्छ ।
यो महाधिवेशनले एमालेलाई ‘एकीकृत, अनुशासित र भावी चुनावका लागि तयार’ देखाउने वा ‘ आपसमा रडाको मच्चाउन संगठन’ देखाउने भन्ने कुरा अबको तीन दिनको राजनीतिक प्रक्रियाले निर्धारण गर्नेछ ।













प्रतिक्रिया दिनुहोस्