जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार ११:२८

एमाले विधान महाधिवेशनमा समूह छलफलको निष्कर्ष :  पार्टी नेतृत्वका लागि केपी ओलीको विकल्प छैन 


ललितपुर, भदौ २२ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तेस्रो दिन आइतबार विभिन्न समूहगत नेताहरूले प्रतिवेदन पेश गर्दै पार्टीको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष प्रस्तुत गर्नुभएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित बन्दसत्रमा समूहगत नेताहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित विभिन्न आयोगका प्रतिवेदनहरूमा सुझाव राख्दै मूल अवधारणामा सहमति जनाउनुभएको छ ।

कोशी प्रदेशको समूहका टोली नेता प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विधान संशोधनमा ७० वर्षे उमेर सीमा र दुई कार्यकाल हटाउने प्रस्तावलाई आफ्नो समूहले स्वागत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपति वा संवैधानिक आयोगमा निर्वाचित वा नियुक्त भएकाले दैनिक राजनीतिमा नफर्किने व्यवस्था विधानमै लेखिनुपर्छ’, हाम्रो समूहको यो निष्कर्ष हो ।

मधेस प्रदेश समूहको तर्फबाट अध्यक्ष चन्द्रेश्वर मण्डलले देशी–विदेशी शक्तिबाट पार्टीमाथि आक्रमण भइरहेका बेला आगामी महाधिवेशनले ओलीलाई पुनः नेतृत्व दिनुपर्ने धारणा समूह छलफलमा आएको बताउनुभयो ।

वाग्मती प्रदेश समूहको तर्फबाट अध्यक्ष कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाउने पक्षमा बहुमत देखिएको जानकारी दिनुभयो। ‘चीन भ्रमणका क्रममा लिपुलेकबारे चीनका राष्ट्रपतिसँग अडान राख्नुभएकाले अध्यक्ष ओलीलाई उच्च सम्मान गर्नुपर्छ भन्ने समूहको निष्कर्ष  निस्किएको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश समूहको तर्फबाट उपाध्यक्ष मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई प्राप्त गर्न प्रतिवेदनहरूले स्पष्ट मार्गदर्शन गरेको बताउनुभयो।

लुम्बिनी प्रदेश समूहबाट अध्यक्ष राधाकृष्ण कँडेलले नेपाली विशेषता अनुरूप समाजवाद निर्माण गर्न अध्यक्ष ओलीकै नेतृत्व आवश्यक रहेको धारणा समूह छलफलमा आएको बताउनुभयो।

कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले  समूह छलफलको निष्कर्ष सुनाउँदै वर्तमान परिस्थितिमा नेतृत्वलाई अझ स्थापित गर्न आवश्यक रहेको बताउनुभयो।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले समूह छलफलको निष्कर्ष सुनाउँदै प्रस्तुत प्रतिवेदनहरूमा पूर्ण सहमति रहेको बताउनुभयो । ‘अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प छैन’, उहाँले भन्नुभयो ।