जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १२:१०

प्रधानमन्त्री ओलीको अपिल : सार्थक निश्कर्षमा पुग्न संवादमा छु, संवादमार्फत नै समाधान खोजिन्छ


काठमाडौं, भदौ २४ । राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र संवादमार्फत समस्याको समाधान खोजिने बताउनुभएको छ ।

मंगलबार एक अपिल जारी गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै संयमित रहन सबै नागरिकलाई आग्रह गर्नु भएको छ।

‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपुर्ण तथा सम्वादको माध्यमबाट समाधान खोज्ने परिपार्टी नै हामीले अपनाउनु बिधि हो । उत्पन्न परिस्थितिको मुल्यांकण गर्न र सार्थक निश्कर्षको लागि संवद्ध पक्षसँग सम्वादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वानसमेत गरेको छु । सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई यो बिषम परिस्थितिमा संयम रहन बिनम्र अनुरोध गर्दछु,’  उहाँले भन्नुभएको छ ।

उहाँले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न सम्बद्ध पक्षसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरिएको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हालको विषम परिस्थितिमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई संयमित रहन अपिल गर्दै राष्ट्रिय सहमतिको आधारमा समस्याको समाधान खोजिने विश्वास व्यक्त गर्नुभएको छ ।