काठमाडौं, भदौ २४ । प्रधानमन्त्रीको राजीनामा आइसकेको संवेदनशील अवस्थामा देशभर उत्पन्न भएको परिस्थिति शान्त गर्न प्रमुख सुरक्षा निकायका उच्च अधिकारीहरूले सम्बद्ध सबै पक्षलाई संयमित रहन र संवादमार्फत समाधान निकाल्न अपिल गरेका छन्।
प्रधानमन्त्रीको राजीनामापछि मंगलबार संयुक्त वक्तव्य जारी गर्दै मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयमता अपनाउन नागरिकलाई आग्रह गर्नुभएकाे हाे ।
उहाँहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ, यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ।’
मुलुकमा बढिरहेको तनावलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय रहेको र सहमतिको बाटोमार्फत स्थायित्व कायम गर्नुपर्ने आवश्यकतामा उहाँहरुले जोड दिनुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्