जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार २१:२८

जनधनको ठुलो क्षति भइसक्यो संयमता अपनाउँ, शान्तिपूर्ण वार्ताबाट निकास खोजौँ : प्रधानसेनापति सिग्देल 


काठमाडौं, भदौ २४ । प्रधानसेनापति अशोकराज सिग्देलले देशमा आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भइसकेकोले संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

मंगलबार राती देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले नेपालको स्वतन्त्रता, स्वाभिमान, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकता कायम गराउने कुरामा जस्तोसुकै परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको स्मरण गराउँदै हाल भइरहेको आन्दोलनको क्रममा भएको अपूरणीय जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । ‘आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो, वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सामाजिक एवं नागरिकहरूको सम्पत्ति, आमनागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो’, उहाँले भन्नुभएको छ ।

सिग्देलले यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तरिकाले निकास दिन आन्दोलनरत समूहलाई वार्ताको माध्यमबाट अघि बढ्न आग्रह गर्नुभएको छ ।