काठमाडौं, भदौ २६ । मुलुकमा पछिल्ला दिनमा विकसित असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर र संवेदनशील बनेको जनाएको छ ।
पार्टी न्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा पार्टीले भदौ २३ गते सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादविरुद्ध, सुशासन लगायतका माग राखेर ‘जेन–जी’ युवाहरूद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति स्तब्धता व्यक्त गरेको छ । पार्टीले जीवन गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, आफन्तको वियोगमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग राखेको छ ।
विज्ञप्तिमा भदौ २४ गते मुलुकभर देखिएको आगजनी, तोडफोड, हिंसा र लुटपाटलाई त्रासदीपूर्ण दृश्यका रूपमा चित्रित गरिएको छ । संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबारसहितका ऐतिहासिक संरचना, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रहरी कार्यालय, विमानस्थल, मिडिया हाउस, निजी सम्पत्ति, डिपार्टमेन्टल स्टोर, होटल र बैंकहरूमा भएको क्षतिले राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। बहुमूल्य र दुर्लभ अभिलेख तथा दस्तावेजहरू नष्ट हुनु, १३ हजारभन्दा बढी कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्कनुले शान्ति सुरक्षामा थप चुनौती उत्पन्न भएको र कतिपय स्थानमा मानिसहरूलाई जिउँदै जलाइएकोजस्ता भयावह घटनाले राष्ट्रलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो विनाशकारी घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।
आयोजकहरूले प्रारम्भिक रूपमा आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने घोषणा गरेको र हिंसात्मक घटनामा संलग्नता नरहेको जानकारी दिएको सन्दर्भमा एमालेले यथार्थ छानबिन हुनुपर्ने, योजनाविपरीत यस्ता घटना कसरी र कसबाट गराइए भन्ने सत्य बाहिर ल्याइनुपर्ने र योजनाकार तथा दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा सार्वजनिक गरेको छ । साथै, यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन नसकेकाे भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्नेमा पार्टी स्पष्ट रहेको विज्ञप्तिमा भनिएको छ । सुशासन, नातावादको अन्त्य, रोजगारी सिर्जना र तीव्र विकास जस्ता युवा पुस्ताका सरोकारलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै यसका लागि सम्माननीय राष्ट्रपतिले संविधानको मर्मअनुरूप सार्थक संवाद प्रारम्भ गर्न र नेतृत्वदायी पहल लिनुपर्नेमा ध्यानाकर्षण गराइएको छ ।
एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहलाई लोकतन्त्रको रक्षाका लागि आ–आफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ । स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सबै संवैधानिक निकाय र राजनीतिक दलहरूलाई परस्पर संवाद र समझदारीमा आउन पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा असामान्य परिस्थितिको लाभ उठाउँदै मुलुकका विभिन्न स्थानमा अझै पनि लुटपाट, आगजनी र तोडफोड भइरहेका उल्लेख गर्दै नागरिकको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न र सम्पत्तिको संरक्षण गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायहरूको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
स्थिति सामान्य भएपछि एमालेले बैठकमार्फत समग्र अवस्थाको समीक्षा गर्ने, आवश्यक आत्मसमीक्षा गर्ने र आगामी कार्यबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।
विज्ञप्तिमा एमालेले विगतमा निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेष, प्राकृतिक विपत्ति, नाकाबन्दी र महामारीजस्ता चुनौतीहरूमाथि विजय हासिल गर्दै आएको स्मरण गराउँदै आजको प्रतिकूल अवस्था पनि चिर्न सकिने विश्वास व्यक्त गरिएको छ । केन्द्रीय सचिवालयले सबै नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक र जनप्रतिनिधिलाई दृढ र एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै ध्वस्त भएका कार्यालय र स्थलहरूको सरसफाइमा लाग्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई सहयोग पुर्याउन स्वयंसेवी भूमिका निर्वाह गर्न अनुरोध गरेको छ । पार्टीले प्रतिकूल अवस्थालाई चिर्दै उच्च मनोबलसहित राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षामा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ । ‘यतिबेला उच्च मनोबल कायम राख्नु, प्रतिकूलतालाई चिर्नु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु आवश्यक छ, राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने छ’, विज्ञप्तिमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्