काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गरी जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर पार्टीको रहेको प्रष्ट पार्नुभएको हो ।
देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको कांग्रेसको ठहर छ।
‘जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरूदेखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ। यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य छ। सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ। यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ। यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ। अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं।’
उपसभापति खड्काले जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद रहेको भन्दै दोषीमाथि कार्वाहीको माग गर्नुभएको छ । ‘आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहोर्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
सम्पूर्ण घटनाको छानबिन गर्न माग गरिसकेको बताउँदै कांग्रेसले सरकारलाई पुनः स्मरण गराएको छ। कांग्रेसले लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा। आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमणको भर्त्सना गरेको छ।
लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ। उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी पार्टीका अग्रजहरु, नेताहरु, पार्टीका साथीहरु तथा अन्य राजनीतिक दलका नेताहरु माथि भएको भौतिक आक्रमण निन्दनीय र भत्र्सना योग्य छ। उहाँहरु लगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’
उपसभापति खड्काले विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट पारे।













प्रतिक्रिया दिनुहोस्