जनता टाइम्स

२९ भाद्र २०८२, आईतवार १८:५८

सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग : पाए अन्तरिम सरकारको मन्त्री बन्ने, नपाए बालेनसँग मिलेर नयाँ पार्टी खोल्ने दाउ 


काठमाडौं, भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टी त्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? भन्दै प्रश्न गर्नुभएको छ । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उहाँको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको उहाँको आरोप छ । आफूले त्यसको नै आलोचना गर्दै आएको भए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु, मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला, मैले पार्टी छाडेँ’, उहाँले लेख्नु भएको छ ।

उहाँले पार्टी छाडे पनि एजेण्डा भने नछाडेको बताउनुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरे लगत्तै उहाँले फेसबुक लाइभमा आएर पार्टीमा आउँदा आफूले बोकेको एजेण्डा कहिल्यै नछाड्ने बताउनुभयो । ‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन्, मैँले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो तपाईँहरू सबैको साथले भएको हो, मैले पार्टी छाडेको हुँ तर, पार्टीभित्र मैले जुन एजेन्डा बोकेर गएकी थिएँ, त्यो एजेन्डा त कहिल्यै छाडेको छैन’, उहाँले भन्नुभयो ।

परिवर्तनको एजेन्डा बोकेका जेनजी युवापुस्तालाई सबैले साथ दिनुपर्ने बताउँदै उहाँहरूलाई साथ दिन आफूले पार्टी छाडेको उहाँले बताउनुभयो । आफूले पार्टी भित्र गर्न नसकेको काम अब, बाहिर आएर गर्न लागेको उहाँले बताउनुभयो ।

आफूले मन्त्री पद्मा जानका लागि पार्टी छाडेको नभई जेनजी पुस्ताका भाइबहिनीलाई साथ दिनका लागि पार्टी छाडेको दाबी उहाँको छ । तर पार्टी छाडेर अन्तरिम सरकारको मन्त्री बन्ने कसरत श्रेष्ठले गरिरहेको चर्चा आएको छ ।

यस अघि काठमाडौंका मेयर बालेन्द्र साह बालनेसँग मिलेर नयाँ पार्टी खोल्ने तयारी श्रेष्ठले गरेको चर्चा थियो । तर पार्टी छोड्दा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद पद जाने भएपछि उहाँ अड्किनु भएको थियो । संसद् विगठन भएसँग सांसद पद गएपछि उहाँले पार्टी छाड्नु भएको हो ।