जनता टाइम्स

३० भाद्र २०८२, सोमबार १५:१३

पदबहालमै अर्थमन्त्री रामेश्वर खनालले गर्नुपर्यो सोच्दै-नसोचेको घटनाको सामना


काठमाडौं, भदौ ३० । नवनियुक्त अर्थ मन्त्री रामेश्वरप्रसाद खनालले पदबहालीमै सोच्दै नसोचेको घटनाको सामना गर्नुपरेको छ । राष्ट्रपति भवन शीतल निवासमा अर्थ मन्त्रीको शपथ लिएर सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदबहाली गरेसँगै खनालले अप्रत्याशित घटना झेल्नुपर्‍यो ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ मन्त्री खनालले पदभार ग्रहण गर्ने क्रममा उहाँले दुई मुख्य निर्णय लिनुभयो । जेनजी प्रदर्शनको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका अर्थ मन्त्री खनालले ‘टुक्रे योजना कार्यान्वयन नगर्ने, राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने’ पहिलो निर्णय नै गर्नभयो ।

पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राखियो । उक्त कार्यक्रममा खनालमाथि जेनजी आन्दोलनकारी हुँ भन्दै एक वृद्धले आपत् पारिदिए । ती वृद्ध हुनुहुन्थ्यो–पर्वतका सालिकराम पौडेल ।’ उमेरले पाका पौडेल अर्थ मन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसिरहनु भयो । खनालले आफ्ना कुरा राखिसकेपछि एकाएक छेवैमा रहेका ‘पहिला सचिव फेर्नाेस’ भन्दै कड्किनुभयाे।

‘आफ्ना कुरा पनि केही राख्नु’ भन्दै अर्थ मन्त्रीको छेवैमा पुगेका पौडेलले अर्थ सचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो । ‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थ सचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औँला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईँ यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ पौडेलले कड्किँदै भन्नुभयो ।

एकाएक सचिव फेर्नाेस भन्दै जङ्गिएपछि पौडेललाई सुरक्षाकर्मीले रोक्न खोजे पनि अर्थ मन्त्री खनालले सचिव उपाध्यायलाई नै सोध्नुभयो, ‘उहाँ को हो ?’

सचिव उपाध्यायले जवाफ फर्काउनु भयो, ‘खै, मलाई थाहा छैन ।’ अनि अर्थ मन्त्री खनालले पौडेलतिर हेर्दै भन्नुभयो, ‘त्यो म मिलाउँला, हेरौँला ।’

अर्थ मन्त्री खनालले त्यसबारे अहिले नै निर्णय भइसकेको बताउनु भयो । अर्थ मन्त्री खनालले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको पौडेललाई जानकारी पनि दिनुभयो, ‘त्यो निर्णय भइसकेको छ, म पछि हेरौँला ।’ यति भनेपछि पौडेललाई सुरक्षाकर्मीले रोक्दै बाहिर लान खोजे । तर फेरि जंगिनुभयाे, ‘सुन्नुस्, हाम्रो पनि कुरा छन् यहाँ, हामीले पनि आन्दोलन गरेका हौँ, हामी त्यसै आएका हौँ र ? तपाईँ त्यसै मन्त्री भएको हो र ?,’

त्यसपछि सुरक्षाकर्मीले थप रोक्न खोजे । तर पौडेल पख्नुस् भन्दै आफ्ना कुरा राखिरहनुभयो । सुरक्षाकर्मीकै बीचमा पौडेलले थप्नुभयो, ‘पहिला उहाँ (सचिव उपाध्याय) लाई फेर्नुपर्छ, कहिले फेर्ने हो, फेर्नुस् ।’

ज्याद्रो पौडेलको कुरा सुनेर अर्थ मन्त्री खनाल अक्क न बक्क बनेर कार्यक्रम सकौँ भन्दै उभिनुभयो । अनि ‘हजुरको नाम के हो ? भन्दै हात मिलाउन दिनुभयो । पौडेलले अर्थमन्त्रीसँग हात मिलाउँदै भन्नुभयो, ‘जेन्जी आन्दोलन गरेको सालिकराम पौडेल, पर्वत ।’

पौडेलको उमेर करिब ६५ वर्षको हाराहारी रहेको अनुमान सहजै गर्न सकिन्छ । फर्किएर कार्यकक्षमा गएपछि अर्थ मन्त्री खनालले उनै सचिव र सहसचिवहरुसँग भन्नुभयो, ‘कस्तो आपत् क्या ! अब त जसले पनि, जहाँ पनि थर्काउने पो भयो बा ।’