जनता टाइम्स

३१ भाद्र २०८२, मंगलवार ०७:३१

अर्थमन्त्री रामेश्वर खनालले सुविधा नलिने निर्णय गर्दा विप्लव रिसले चुर, कुनैबेला अकुत कमाएको हुनसक्ने आरोप


काठमाडौं, भदौ ३१।  सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभयो ।

मन्त्रीहरूले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उहाँले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेर व्याख्या गर्नुभएको छ ।

सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुँदै गर्दा विप्लव कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो। सो कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भन्नुभयो, ‘मन्त्रीहरूले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिँदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’ विप्लव यत्तिमै रोकिएनन् । उहाँले थप व्याख्या गर्दै भन्नुभयो , ‘त्यो भनेको त कतैबाट त्यसले कमाएको छ नि त । ‘यो घमण्ड हो के । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’

यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । त्यसैले उहाँले भन्नुभयो , ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने साबित गर्छ ।’

उहाँले यस्ता व्यक्तिहरूले जनतालाई भ्रम छर्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको सुनाए । ‘हेर्नुस् धेरै कुराहरू छ के । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने,’ विप्लवले भन्नुभयो ।

उहाँले यस्ता खेल नखेलेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ उहाँले भन्नुभयो । विप्लवले नेताहरू जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘नेताहरू आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ विप्लवले भन्नुभयो, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

कार्यक्रममा विप्लवले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूलाई ‘राम्रो काम’ गर्न शुभकामना दिनुभयो । ‘सुशीलाजीलाई हाम्रो यो पनि शुभकामना छ, राम्रो गर्नुस् न । आइहाल्नुभयो तपाईँले गर्नुस् न, अरू मन्त्रीहरूले पनि राम्रो गर्नुस्,’ उहाँले भन्नुभयो, ‘तर यसको मतलब अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने कुरातिर होइन । राम्रो गर्ने तिरबाट सोच्नुपर्छ ।’

विप्लवले सोमबार बेलुका नै एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाउनुभएको थियो । ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी उहाँले गर्नुभयो ।

शहीद परिवारलाई घर हस्तान्तरण

कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा नेकपाका महासचिव विप्लवले शहीद परिवार देवीमाया वि.क.लाई तीनकोठे घर हस्तान्तरण गर्नुभएको छ ।देवीमायाले सशस्त्र युद्धमा आफ्ना दुई छोरा राजु र शंकर गुमाउनुभएको छ । उहाँका लागि नेकपा कपिलवस्तुले घर निर्माण गरिदिएको थियो ।

घर हस्तान्तरण कार्यक्रममा विप्लवले शहीदका सपनालाई बोकेर हिँड्ने प्रतिबद्धता जनाउनुभयो ।