दाङ, मंसिर ५
नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग एकता गर्न आफू तयार रहेको बताउनुभएको छ ।
दाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताउनुभयो । “सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका छैनन्”, उहाँले भन्नुभयो, “प्रस्ताव लिएर आएमा हामी कुरा गर्न तयार छौँ ।”
भारतले सीमा मिचेको विषयमा सरकारले ठोस पहल नथालेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो । लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यसमा गम्भीर नभएको बताउनुभयो । अहिलेको सरकारले विगतका सरकारजस्तै कूटनीतिक पहल लिन नसकेमा मुलुकले ठूलो क्षति ब्यहोर्नेसमेत उहाँको भनाइ छ ।
गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने बताउँदै उहाँले विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने तर नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने धारणा राख्नुुभयो । “नेपाली बुबा तर विदेशी आमाबाट जन्मेको बच्चाले नागरिकता पाउनुपर्छ, यो हाम्रो पनि मुद्धा हो”, उहाँले भन्नुभयो, “तर विदेशी बुबालाई नागरिकता दिने कार्य मान्य हुने छैन ।”
मुलुकबाट राजतन्त्र गएपछि सामान्तवाद शून्य भएको भन्ने कुरा गलत रहेको भन्दै महासचिव मैनालीले अहिले सामान्तवाद केही कमजोर भएको भए पनि निर्मूल भने भई नसकेकोसमेत बताउनुभयो । उहाँले साना व्यवसायलाई प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन सकिनेसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्