सुर्खेत, असाेज ४ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताउनु भएकाे छ ।
कँडेलले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गर्नुभयाे ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भन्नुभयाे, ´चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो ।´
उहाँले राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै युवा पुस्ताले यस विषयलाई निरन्तर उठाइरहनुपर्नेमा जोड दिनुभयाे । ´देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,´ कँडेलको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन्जी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयाे। उहाँले युवा संगठन र विद्यार्थी संगठनलाई मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्दै भन्नुभयाे, ´हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं । भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने, र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ ।´
कँडेलले गुटबन्दी, विभाजन र स्वार्थी राजनीति गर्दा पार्टी मात्र कमजोर नभई राष्ट्रसमेत कमजोर हुने चेतावनी दिनुभयाे। कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष सुर्खेत जिल्ला अध्यक्ष र युवाहरूको सहभागी रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्