जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १७:०१

४६ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध मुग्लिन सडक, गन्तव्यतर्फ पठाइयो सवारी साधन


चितवन, असोज ५ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । तुइनखोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक केहीबेर अघिबाट सूचारु भएको हो ।

आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसंगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सूचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका थिए । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाइएको छ ।

यातायात विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन् । एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ ।