जनता टाइम्स

६ आश्विन २०८२, सोमबार १२:१४

संगीताको नामले बालुवाटार र शीतल निवासमा हल्लीखल्ली


काठमाडौँ, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ । मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उहाँको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो ।

५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो । शीतल निवास स्रोतले भन्यो, ‘बालुवाटारबाट ५ जनाको नाम आयो, सोहीअनुसार नियुक्त भएपनि एकाएक बालुवाटारबाट अहिले उहाँको केही नगर्नु भन्ने जानकारी आयो, त्यससँगै अन्योल भयो ।’

मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिनुभएको थियो । तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा भएको भनिएको अनियमिततामा उहाँमाथि प्रश्न रहेको पाइएपछि विवाद हुने बुझाइ बालुवाटारको रहेको छ ।

सोही कारण उहाँको मन्त्री पदको शपथ हुने कि नहुने भन्ने मै अन्योल रहेको शीतल निवास स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘अब के हुने हो, बालुवाटारबाट आउला, सोहीअनुसार शीतल निवास अघि बढ्छ ।’

बालुवाटारले शीतलनिवासमा आइतबार नै मिश्रा सहित ५ जनाको नाम पठाएको थियो । मन्त्रीहरुको शपथ कार्यक्रम २ बजेका लागि राखिएको छ ।