रामेछाप, असोज ६ । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई श्रम पोख्दै पैसा फल्ने ठाउँ बनाउनुभयएकाे छ । धेरै वर्ष बाँझै रहेको जमिन अहिले ड्रागन फ्रुटले भरिएको छ र सबैको मन लोभ्याउने बगैँचामा परिणत भएको छ ।
अत्यधिक सुख्खा जमिनका कारण लामो समयसम्म बाँझै रहेका बारीमा अब सम्भावनाको नयाँ बाटो खुलेको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आएका साईले करिब १० वर्षअघि गाउँ फर्केर कृषि उद्यम सुरु गर्नु भएकाे थियाे। राजधानीमा अझै पनि नर्सरी सञ्चालनमै छ, तर गाउँमा आएर नयाँ प्रयोग गर्दा राम्रो आम्दानी भएपछि उहाँ गाउँमै रमाउन थाल्नु भएकाे छ ।
साईले ३ वर्षअघि भदौरे कालिका कृषि फर्म दर्ता गरेर बाँझो जमिनमा ड्रागन फ्रुट लगाउनु भएकाे हाे। अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । पहिलो वर्षमै एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभएकाे उहाँले यस वर्ष करिब ६ लाख रुपैयाँ बराबर फल बिक्री हुने अनुमान गर्नु भएकाे छ ।
प्रति किलो ३ सय ३० रुपैयाँमा बारीमै बिक्री हुने ड्रागन फ्रुटको बजारबारे सईलाई कुनै चिन्ता छैन । ‘व्यापारीहरू यहीँ किन्न आउँछन्, अहिलेसम्म बजारको कुनै समस्या छैन,’ उहाँले भन्नुभयाे ।

ड्रागन फ्रुटसँगै साईले दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) स्थापना गरेर बिरुवा उत्पादन सुरु गर्नु भएकाे छ । त्यस्तै सयपत्रीलगायतका फूलबाट पनि थप आम्दानी गर्दै आउनु भएकाे छ ।
रामेछाप जिल्लामा अमिलो जातका फलफूल—जुनार, सुन्तला र कागती राम्रो हुने भएकाले साईले त्यही प्रजातिका बिरुवा उत्पादनलाई प्राथमिकता दिनुभएकाे छ ।
साईले व्यवसायिक कृषि सुरु गरेसँगै गाउँका अन्य किसानहरू पनि फलफूल खेतीतर्फ आकर्षित भएका छन् । उनको मेहनत र सफलताले सुनारपानीका किसानहरूलाई प्रेरणा दिएको छ ।













प्रतिक्रिया दिनुहोस्