काठमाडौं, असोज ६ । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वमन्त्रीहरूमाथि सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान थालेको छ ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी हुँदा घरमा ठूलो परिमाणमा पैसा जलेको तथ्य बाहिरिएपछि विभागले देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निवास, प्रचण्ड निवास र पूर्वउप्रधानमन्त्री दीपक खड्कामाथि छानबिन अघि बढाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी सङ्कलन गरेको छ भने प्रचण्ड निवासमा पनि अनुसन्धान अघि बढाएको छ । जलेको पैसा र खरानी सङ्कलन गरेर अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।
सबैको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको विभागको भनाई छ । विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन गरेको छ ।
‘जेन–जी’ आन्दोलनका क्रममा २४ भदौमा प्रदर्शनकारीले देउवा र खड्काको बुढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन ।
घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभागको अनुसन्धान टोलीले सबै सङ्कलन गरेको हो । विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भए उनीहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ ।













प्रतिक्रिया दिनुहोस्