जनता टाइम्स

८ आश्विन २०८२, बुधबार १६:५७

प्रधानमन्त्री सुशीला कार्की : राजनीतिक दललाई बाइपास, गैरदलीय व्यक्तिसँग  उठबस


काठमाडौँ, असोज ८। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोक्नुभएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग कुनै औपचारिक छलफल गर्नुभएको छैन। चुनावको लागि दलहरूको विश्वास जित्दै अघि बढ्नु पर्ने बेलामा उहाँ हाल गैरदलीय व्यक्तिहरूसँग भेटघाटमा सक्रिय रहनुभएको देखिन्छ। उहाँ सो घेराबाट बाहिर निस्कन सक्नु भएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की राजनीतिक दलहरूसँग पूर्वाग्रही जस्तै देखिनु भएको छ । तर राजनीतिक दललाई विश्वासमा नलिँदासम्म उहाँले तोकेको फागुन २१ को निर्वाचन सम्भव छैन । लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीले राजनीतिक दललाई बाइपास गरेर अघि बढ्नु लोकतन्त्रको आधारभूत मूल्य मान्यता भन्दा बाहिरको कुरा हो ।

यही क्रममा प्रधानमन्त्री कार्कीले बुधबार बिहान काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) सँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। भेटमा मेयर बालेनले हालै उग्र बनेको ‘जेनजी आन्दोलन’लाई सम्बोधन गर्न सरकारले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आन्दोलनका माग पूरा नगरे लामो राजनीतिक अस्थिरता र जनआक्रोश बढ्ने चेतावनीसमेत दिनुभयो।

मेयर बालेन पुराना राजनीतिक दलहरू प्रति निक्कै नकारात्मक हुनुहुन्छ । उहाँले स्वतन्त्र चुनाव लडेर काठमाडाैंकाे मेयर बन्नु भएको हो । जेनजी आन्दोलन भड्काउन उहाँको ठुलो हात रहेको भन्दै आलोचना हुने गरेको छ । उहाँले पटक पटक सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । आफ्नी श्रीमती चढेको गडी ट्राफिक प्रहरीले रोकेर चेक जाँच गर्दा समेत उहाँले सिंहदरबार जलाउने धम्की दिनुभएको थियो । नभन्दै जेनजी आन्दोलनमा सिंहदरबार जलेर खरानी भएको छ ।

बालेनकाे चेतावनीको जवाफमा प्रधानमन्त्री कार्कीले आन्दोलनका मागप्रति आफू संवेदनशील रहेको बताउनुभयो। उहाँले ‘निर्वाचन समयमै सम्पन्न गर्ने तयारी भइरहेको र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्रीले बालेनसँग यो प्रतिबद्धता जनाइरहँदा निर्वाचन र अन्य राजनीतिक विषयमा राजनीतिक दलसँग कुनै परामर्श नगरी यो  कसरी सम्भव होला प्रश्न उठेको छ । यदि राजनीतिक दलले साथ दिएनन् भने तत्कालीन राजा ज्ञानेन्द्रले गराएको स्थानीय तहको निर्वाचन जस्तै हुने जोखिम छ ।

भेटमा प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी र सचिवालयका सदस्यहरू उपस्थित हुनुन्थ्यो  भने मेयर बालेनको तर्फबाट सहयोगी कुमार बेनसहितको टोली सहभागी थियो। करिब ३० मिनेट लामो छलफललाई दुवै पक्षले सकारात्मक भन्दै निरन्तर संवाद गर्ने सहमति गर्नुभएको छ। तर बालेनसँग स‌ंवाद र सहमतिकाे राजनीतिक अर्थ, मूल्य र मान्यता के भन्ने प्रश्न उब्जिएको छ ।

अन्तरिम सरकार गठनका बेला पनि नेपाली सेनाका प्रधान सेनापतिले बालेन शाह र दुर्गा प्रसाईँ आन्दोलनका प्रमुख पात्र भएको उल्लेख गर्दै, उनीहरूसँग छलफल गरेर मात्र अघि बढ्नुपर्ने अडान राख्नुभएको चर्चा चलेको थियो। हाल राजनीतिक दललाई बाइपास गर्दै गैरदलीय व्यक्तिसँग मात्र उठबस गर्न थालेको देखिँदा मुलुकको राजनीति कुन दिशातर्फ मोडिने हो भन्ने बारेमा विभिन्न शङ्का उत्पन्न भएको छ।