जनता टाइम्स

१० आश्विन २०८२, शुक्रबार १५:०२

रामेछाप हाटमा दशैँको किनमेल गर्नेको भिड


रामेछाप, असोज १०। शताब्दी पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ स्थित रामेछाप बजारको बिहीबारे हाटमा यस वर्ष पनि दशैँ नजिकिँदै जाँदा उपभोक्ताको ठुलो भिड देखिएको छ।

राजा रणबहादुर शाहको पालादेखि निरन्तर लाग्दै आएको यो हाट मध्यपूर्व नेपालको सबैभन्दा ठुलो र पुरानो हाटमध्येको मानिन्छ। तत्कालीन समयमा रामेछाप जिल्लाको सदरमुकाम समेत यहीँ रहेको कारण यस हाटको व्यापारिक र सामाजिक महत्त्व अझ बढी थियाे ।

हरेक बिहीबार लाग्ने यो हाटमा वर्षको सामान्य समयमा तरकारी, गेडागुडी, नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य वस्तु खरिद–बिक्री हुने गर्दछ। तर चाडपर्व विशेषगरी तीज, दशैँ र तिहार अगाडि भने हाटको रौनक असाधारण देखिन्छ।

यस पटकको हाटमा दशैँलाई लक्षित गर्दै खसी, बोका र कुखुरा खरिद गर्ने मानिसहरूको बाक्लो उपस्थिति थियो। बिहानैदेखि साँझसम्म किसानहरूले ल्याएका बोका, खसी र कुखुराको व्यापार धमाधम चलिरहेको देखिन्थ्यो। रामेछापका गाउँ–गाउँ मात्र होइन, सिन्धुली, ओखलढुङ्गा, दोलखा र काभ्रेलगायत जिल्लाबाट समेत व्यापारी र उपभोक्ता आएका थिए।

स्थानीय किसानहरूले आफ्नै घरमा पालिएका बाेका, खसी र कुखुरा बजारमा ल्याएका थिए। दशैँ नजिकिँदा गाउँमा पालिएका जनावर बेचेर केही खर्च जुटाउने मुख्य अवसर रुपमा किसानहरुले याे हाटलाई प्रयाे गर्ने गर्दछन् ।

हाटमा मासुका लागि खसी, बाेका र कुखुरा मात्र नभई कपडा, जुत्ता, चप्पल, मसला, तरकारी, चामलदेखि लिएर श्रृङ्गारका सामानसम्म बिक्री भएको थियो।

विगतमा रामेछाप हाटमा सिन्धुलीको तीनपाटन र ग्वालटार क्षेत्रबाट चामल, बितिजोरबाट केरा, तराईबाट दैनिक उपभोग्य सामान ल्याइन्थ्यो। अहिले सडक विस्तारसँगै नयाँ बजार र पसलहरूको विकास हुँदा हाटमा आउने सामान र उपभोक्ताको भौगोलिक दायरा भने केही साँघुरिएको छ। तर, पर्व–पर्वमा लाग्ने हाट अझै पनि व्यापार, भेटघाट र मेलमिलापको ठुलो केन्द्रकै रूपमा रहन्छ।

स्थानीयवासीको अनुसार, बिहीबारको हाट केवल किनमेलको ठाउँ मात्र नभई सामाजिक सद्भाव र भेटघाटको संस्कृतिको निरन्तरता पनि हो। दशौँअघिको हाटलाई त गाउँ–गाउँका मानिसले ‘वार्षिक भेटघाट’ को अवसरका रूपमा लिने गरेका छन्।

यसरी, आर्थिक गतिविधि र सामाजिक सम्बन्ध दुवैलाई जोड्ने रामेछापको पुरानो हाट अझै पनि चाडबाडको उत्साह र ऐतिहासिक गौरव बोकेर निरन्तरता पाइरहेको छ।