काठमाडौं, असोज १२। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई पुनः जागरूक बनाउँदै नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढाइने बताउनुभएको छ ।
आइतबार महाराजगञ्जस्थित आफ्नो निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्ने कुनै शक्ति सफल नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौँ, कांग्रेस फेरि माथि उठ्छ, लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन्, हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अघि बढ्छौँ।’
डा. महतले पछिल्लो समय नियोजित ढङ्गले राजनीतिक दलहरूलाई बदनाम गर्न र तिनको आत्मविश्वास घटाउन विभिन्न गतिविधि भइरहेका बताउनुभयो । तर कांग्रेस त्यसको सिकार नहुने उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो आत्मविश्वासलाई थङथिलो पार्ने योजनाअन्तर्गत सबै षड्यन्त्र गरिएको हो, तर कांग्रेस पार्टी सधैँ लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ।’
कांग्रेस पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी गराएर कांग्रेसको आत्मबल कमजोर पार्न नसक्ने बताउनुभयो। ‘हामी पुनः जागरूक भएर उठ्नेछौँ,’ उहाँले दृढताका साथ भन्नुभयो।
प्रवक्ता महतले पार्टीभित्रका कमजोरी र त्रुटिहरू स्वीकार गर्दै त्यसको समीक्षा गरिने बताउनुभयो। उहाँले नयाँ सोचसहित विकास, निर्माण र रोजगारीमुखी एजेण्डा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टी त्यस दिशामा गम्भीर हुने स्पष्ट पार्नुभयो। ‘हामीमा भएका कतिपय कमजोरी र त्रुटिहरूको समीक्षा हुनेछ, अब हामी नेपाललाई विकास, निर्माण र रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्छौँ।’
राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुने भएकाले तिनलाई कमजोर पार्ने षड्यन्त्र विफल हुने महतको भनाइ छ। सम्पूर्ण कांग्रेस पंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन उहाँले आह्वान गर्नुभयो। ‘नेपाली कांग्रेस पार्टीले अनेकौँ आँधिबेहोरीमा लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो आत्मविश्वास जोगाउन सम्पूर्ण पार्टी पङ्क्तिलाई एकीकृत हुन अनुरोध गर्दछु।’













प्रतिक्रिया दिनुहोस्