जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार १९:४६

कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु, नौ जना घाइते


महेन्द्रनगर, असाेज १४ । दैजीबाट जोगबुडा जाँदै गरेको बोलेरो जिप कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा दुर्घटना हुँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

से १ ज ४१७ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये बेदकोट नगरपालिका–४ की दुई वर्षीया युविका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते नौ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ। उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

घाइतेमध्ये बेदकोट–४ की तारा पालको टाउकोमा गम्भीर चोट लागेको छ भने उनकी १० वर्षीया छोरा प्रिन्स पाल पनि टाउकोमा गम्भीर चोट लागेर उपचाररत छन्।

त्यसैगरी कृष्णपुर नगरपालिका–१ वाणिका ३३ वर्षीया धना बोहरा र उनका ४ वर्षीय छोरा कमल बोहरा पनि गम्भीर घाइते भएका छन्।

डडेल्धुराको परशुराम नगरपालिका–९ का ३५ वर्षीय देवेन्द्र धामी, परशुराम नगरपालिका–११ का २४ वर्षीय बिरेन्द्र कुँवर र उनकी पत्नी मनिसा कुँवर, परशुराम–९ का २८ वर्षीय नरेश सार्की घाइते भएका छन्। उनीहरूको टाउको र शरीरमा चोट लागेको छ।