काठमाडौं, असोज १५ । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको प्रदर्शनका नाममा देशभर भएको हिंसात्मक गतिविधि, आगजनी, लुटपाट र तोडफोडप्रति कडा आपत्ति जनाउँदै सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र प्रतिसोधको राजनीति नगर्न चेतावनी दिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा जेन–जी पुस्ताद्वारा आव्हान गरिएको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आपराधिक समूहहरूले देशभर अकल्पनीय ढङ्गले आतङ्क मच्चाएको र त्यस क्रममा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौँ घाइते भएको तथा राष्ट्रलाई खरबौँको क्षति पुगेको उल्लेख गरिएको छ। विज्ञप्तिमा यस्तो अकल्पनीय र दुःखद घटनाको जति निन्दा गरे पनि कम हुने बताइएको छ।
घटनाबारे अनुसन्धान गर्न सरकारले न्यायिक छानबिन आयोग गठन गरेको निर्णयलाई कांग्रेसले स्वागत गरेको छ। तर, राजनीतिक प्रदर्शनलाई आड बनाएर योजनाबद्ध ढङ्गले राजनीतिक दल र नेताहरूको कार्यालयमाथि आक्रमण, सुरक्षाकर्मीको हातहतियार र वर्दी लुटपाट, ती वर्दी लगाएर आतङ्क फैलाउने जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई दण्ड विहीनता दिने प्रवृत्तिप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ।
कांग्रेसले छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही ढङ्गले कारबाही गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। विज्ञप्तिमा गृह मन्त्रालयको पुरानो विज्ञप्तिको आधारमा पासपोर्ट रोक्का गर्ने, मुलुकभित्रै आवतजावतमा प्रतिबन्ध लगाउने, आयोगलाई नभएको अधिकार प्रयोग गर्न लगाउने जस्ता कार्यहरू असंवैधानिक र गैरकानूनी रहेको दाबी गरिएको छ।
‘राजनीतिक दल र दल विशेषका नेतामाथि बदलापूर्ण, प्रतिसोध लिने उद्देश्यले गरिएको यस्तो निर्णय सरकारको तोकिएको जिम्मेवारीभन्दा भिन्न मार्गमा हिँडेको सङ्केत हो,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले सरकारलाई सचेत गराउँदै दण्डहीनतालाई प्रोत्साहन गर्ने र प्रतिशोधपूर्ण राजनीति गर्ने नीति नेपाली जनताले कहिल्यै स्वीकार नगर्ने चेतावनी दिएको छ। साथै, शान्ति, सुव्यवस्था र कानुनी राज्य कायम गर्न सरकारलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्